ललितपुर । गोदावरी नगरपालिका-१० को उदयखर्क माध्यमिक विद्यालयले २०८२ जेठ १४ गते आफ्नो स्थापनाको ६५ औँ दिवस मनाएको छ ।
दिवसका अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई कापी कलम लगायत शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीसँगै प्रेरणामूलक नाटक पनि प्रस्तुत गरेका थिए ।
दिवसको अवसरपारी सेवा निवृत्त भएका शिक्षक लक्ष्मण विष्टलाई कदरपत्र र दोसल्ला ओढाएर औपचारिक रुपमा विदाई पनि गरिएको छ ।
३९ वर्ष पढाउनु भएका शिक्षक विष्टलाई वडा अध्यक्ष शेखर न्यौपानेले दोसल्ला ओढाएर र नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख दिननाथ पन्थीले खादा ओढाएर सम्मान गर्नु भयो ।
यो सम्मानसँगै उहाँको विदाइ पनि भएको छ । २०४३ सालबाट शिक्षण पेशामा लाग्नु भएका विष्टले लामो समय यही विद्यालयमा बिताउनु भएको थियो ।
विद्यालयलाई संस्थागत तथा व्यक्तिगत सहयोग गर्नेहरुलाई स्मरण गर्दै विद्यालयले सम्मान पनि गरेको छ ।
विद्यालयका प्रधानाध्यापक हरि काफ्लेका अनुसार अहिले २०८२ सालमा आइपुग्दा विद्यार्थी सङ्ख्या ३ सय २६ पुगेको छ । ६५ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिननाथ पन्थीले विद्यालयको प्रगतीमा खुसी व्यक्त गर्नु भयो ।
गोदावरी नगरपालिका वडा नं १० का वडा अध्यक्ष न्यौपानेले विद्यालयलाई दिइरहेको बस सेवा निरन्तर दिने बताउँदै अब शैक्षिक कार्यक्रम नयाँ डिजिटल मोडेलबाट जाने बताउनु भयो ।
अब कक्षा १० मा हरेक विषयको २० मिनेट श्रब्य दृश्यबाट पढाई हुने र इसिडी कक्षा राम्रो बनाउने वडाध्यक्ष न्यौपानेले बताउनु भयो ।