समाचारको दुनियामा सत्य सूचना, सटीक टिप्पणी र तथ्यपरक विश्लेषणको खाँचो झन् बढ्दो छ । भ्रामक सूचनाको प्रवाह, गलत तथ्यमाथि आधारित प्रचा र जनतासँग सम्बन्धित मुद्दाहरूको ओझेल पार्ने प्रवृत्तिले स्वस्थ लोकतन्त्रलाई कमजोर बनाउने खतरा रहेको छ । यही परिस्थितिमा आम नागरिकको चासोलाई केन्द्रबिन्दुमा राखेर ‘जनचासो डट कम’ अघि बढेको छ । हाम्रो मुख्य उद्देश्य सत्यतथ्यमा आधारित पत्रकारिता प्रवर्धन गर्नु हो । हामी कुनै पनि पूर्वाग्रह वा व्यक्तिगत स्वार्थभन्दा माथि उठी सत्यतथ्य उजागर गर्न प्रतिबद्ध छौं । स्वतन्त्र प्रेसको आत्मा नै सत्यता हो र हामी त्यसैको मार्गअनुसार अघि बढ्नेछौं ।
‘जनचासो डट कम’ ले समसामयिक विषयहरूलाई प्राथमिकता दिनेछ, विशेष गरी नीति-निर्माण, मानव अधिकार, सामाजिक न्याय, भ्रष्टाचार, सुशासन र जनहितका मुद्दाहरूमा गहन विश्लेषण प्रस्तुत गर्नेछ । हामी केवल समाचार दिने मात्र होइन, तिनको वास्तविक प्रभाव र समाजमा पर्ने असरबारे गहिरो चर्चा गर्नेतर्फ केन्द्रित हुनेछौं । हाम्रो डिजिटल प्लेटफर्मले आम नागरिकको आवाजलाई प्राथमिकता दिनेछ । जनताको भावना, सरोकार र अधिकारको पक्षमा हामी दृढताका साथ उभिनेछौं । जनचासोले ग्रामीण भेगदेखि सहरसम्म, बौद्धिक बहसदेखि भुँइतहका आन्दोलनसम्म, सबै कोणबाट आवाज उठाउने प्रयत्न गर्नेछ ।
हामीलाई थाहा छ-पत्रकारिता केवल समाचार लेख्ने साधन मात्र होइन, यो न्यायका लागि सङ्घर्ष गर्ने सशक्त अस्त्र पनि हो । सत्य सूचनाको प्रवाहले जनमत निर्माण गर्छ, सरकारलाई जबाफदेही बनाउँछ, र सामाजिक परिवर्तनको मार्ग कोर्छ । ‘जनचासो डट कम’ को यात्रामा तपाईंहरूको साथ आवश्यक छ । सुझाव, प्रतिक्रिया र सक्रिय सहभागिताले हाम्रो पत्रकारितालाई अझ मजबुत बनाउनेछ । सत्य, निष्पक्षता र जनताको चासोलाई केन्द्रमा राखेर अघि बढ्ने हाम्रो यात्रामा तपाईंलाई स्वागत छ। आउनुहोस् सहयात्रा गरौँ । सहकार्य गरौँ ।