जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

पोखरामा खानेपानीका लागि त्रिपक्षीय समझदारी

मधु पन्थी, पोखरा ।

पोखरा महानगरपालिकाको काँहुडाडा, कृष्ति, भरत पोखरी, निर्मलपोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउनेपानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पोखरा महानगरपालिकाको वडा नम्बर २१ र ३३ लाई समेट्ने गरी नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजना अन्तर्गत वृहद् भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजन, मट्टीखान खानेपानी आयोजना पोखरा महानगरपालिका वडा नम्बर २१ र जलवायु अनुकूलित आयोजना अन्तरगत काँहु धरहरा खानेपानी आयोजना पोखरा महानगरपालिका वडा नम्बर ११ को निर्माण, सञ्चालन र कार्यान्वयन सम्बन्धमा त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नगर प्रमुख धनराज आचार्य र सिनियर डीभिजनल इन्जिनियर कुलप्रसाद पौडेल लगायतको रोहबरमा गरिएको समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका कायममुकायम आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र खानेपानी उपभोक्ता समितिका तिनै जना अध्यक्षहरूले हस्ताक्षर गरिएको छ ।

वृहत भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार २०२ रुपैयाँ कुल लागत मध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट रु.२८ करोड ४९ लाख ९१ हजार ८२८ स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा पुगेको छ । यस्तै काँहु धरहरा खानेपानी आयोजनाका लागि कुल ४९ करोड १७ लाख १७ हजार ६०३ रुपैयाँ मध्ये २१ करोड ६ लाख २४ हजार १४० रुपैयाँ र मट्टीखान खानेपानी आयोजनाको कुल ५१ करोड ७७ लाख ७६ हजार २०२ रुपैयाँ मध्ये २८ करोड ४९ लाख ९१ हजार ८२८ रुपैयाँको अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ ।

समझदारी अनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु आ.वमा पोखरा महानगरपालिकाले त्यसको १० प्रतिशत रकम बेहोर्ने छ । तीन ओटै परियोजनाको कुल लागत १ अरब ५२ करोड ७२ लाख ७० हजार ७ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । परियोजनाको कुल लागतको ९० प्रतिशत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बेहोर्ने छ । बृहत भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना अन्तरगत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी सङ्कलन तथा प्रशोधन गरी १७ कि.मी सिमलेस सहित ३५ कि.मी पाइपमार्फत उपोक्ताहरुको घरघरमा पानी पुर्‍याइनेछ ।

यस आयोजनाबाट करिब २ हजार ४ सय घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले बताउनु भएको छ । उहाँका अनुसार यस आयोजनामा २००, १००, ७५, ५० र २० घन मिटरका ११ वटा पानी ट्याङ्कीहरू निर्माण हुनेछन् । यस्तै काँहु धरहरा खानेपानी आयोजना अन्तरगत काँहुमा प्रशोधन केन्द्र निर्माण गरी १७ किलोमिटर पाइपलाइनमार्फत उपभोक्ताको घरघरमा पानी पुर्‍याइनेछ । करिब १ हजार ५ सय घरधुरी लाभान्वित हुने यो आयोजना अन्तर्गत ३ सय घन मिटरको एक र १ सय घन मिटरका दुई ओटा ट्याङ्कीहरू निर्माण गरिनेछ । मट्टीखान खानेपानी योजना अन्तरगत सेतिखोलाबाट शम्पवेल मार्फत पानी पम्पिङ् गरी फेदिखोला गाउँपालिकाको नुवाकोटमा पानी सङ्कलन गरी मट्टीखान क्षेत्रमा वितरण गरिने छ । ३५ कि.मी पानीको पाइपलाइन विस्तार हुनेछ ।

विभिन्न स्थानमा १५० र ३५ धनमिटर क्षमताका ८ वटा पानी ट्याङ्कीहरू मार्फत आयोजनाले १२ सय घरधुरीलाई पानी वितरण गर्नेछ । चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्ने गरी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २०८१ फाल्गुन ८ गते सार्वजनिक टेन्डर समेत आह्वान गरिसकेको छ । आयोजनाको पोखरा कार्यालय प्रमुख कार्यान्वयन इकाई रहेको यी आयोजना सम्पन्न भएपछि ५ हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

आयोजना कार्यान्वयन भएको मितिले ३० महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यी आयोजनाहरू एक घर एक धाराको अवधारणामा सञ्चालन हुनेछन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीहरूलाई आधारभूत खानेपानीको उपलब्धताका लागि आफूहरू क्रियाशील रहेको बताउनु भएको छ । नगर क्षेत्रमा सङ्घ, प्रदेश र महानगर स्तरीय विभिन्न आयोजनाहरू सञ्चालन गरी उपभोक्ताहरूलाई स्वच्छ र सफा पिउने पानीको व्यवस्था गर्न आफूहरू निरन्तर लागिरहेको उहाँले जानकारी दिनु भएको छ ।

Share the News

Recent News

Related News