जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

त्रिदेव र सदीक्षा, देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट सम्मानित

ललितपुर । नवलपरासी पूर्वका त्रिदेव पौडेल र सिन्धुपाल्चोककी सदीक्षा पण्डितलाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार प्रदान गरिएको छ । जनहितमा उल्लेख्य र अनुकरणीय कार्य गरी नेपाल र नेपालीको पहिचानको अभिवृद्धिमा तल्लिन व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले स्थापित रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले आज उक्त पुरस्कार प्रदान गरेको हो ।

त्यसैगरी गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लुएचआर) र अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार बिनु सुवेदीलाई सम्मान गरेको छ । प्रत्येक पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपियाँसहित सम्मान पत्र रहेको छ ।

कार्यक्रममा डब्लुएचआरकी संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले महिलाहरु एकल हुँदा वा पति गुमाउँदा भोग्नु परेको पीडा तथा भोगाइले महिलामा पारेको प्रभावका विषयमा सङ्घर्ष गर्दै संस्थाले २ लाख भन्दा बढी एकल महिलाहरुलाई सङ्गठित गरी काम गरिरहेको कुरा बताउनु भएको थियो ।

बिनु सुवेदीले पत्रकारिताको मर्मभित्र रहेर विभिन्न प्रहरमा आफू १५ वर्षको उमेरदेखि नै महिला पत्रकारितामा सङ्घर्ष गर्दै अगाडि बढेको र विभिन्न समयमा धेरै चुनौतीहरु भोग्नु परेको बताउनु भएको थियो ।

बाल प्रतिभा पुरस्कारबाट सम्मानित त्रिदेव पौडेलले नेपाललाई उदाहरणीय देश बनाउन देश भित्रै भएको स्रोत र साधनलाई सही सदुपयोग गरी विश्वकै अब्बल देश बनाउन सकिने सपना देखेको कुरा बताउनु भयो ।

देवचुली नगरपालिका–१५, प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गण्डकी प्रदेशमा स्थायी घर भई नागार्जुन–१०, स्यूचाटार, काठमाडौँमा बसोबास भई ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय त्रिदेव पौडेलले १३ ओटा कविता, नौ ओटा कथा, १७ ओटा निबन्धात्मक लेख, चार ओटा नाटक र विभिन्न ४० ओटाभन्दा बढी चेतनामूलक चित्रहरु बनाउनुका साथै २०८० फागुन २० गते एकैपटक दुई पुस्तक ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’ पुस्तक प्रकाशन गर्नु भएको थियो ।

यसैगरी सिन्धुपाल्चोक हेलम्बुकी ११ वर्षीया सदीक्षा पण्डितले बालविवाह लगायतका बालबालिकामाथि हुने विकृति र विसंङ्गतिविरुद्ध अझै लाग्न प्रेरणा मिलेको बताउनु भयो । पण्डित प्रचलित बालविवाह, महिला हिंसा जस्ता भेदभाव, महिनावारी, जलवायु तथा लैङ्गिक न्याय, वातावरण लगायतका विषयमा बालक्लब र किशोरी सम्वाद केन्द्रमा संलग्न भएर बालबालिकाको हक, हित र अधिकार स्थापनार्थ निरन्तर क्रियाशील रहँदै आएनु भएको छ ।

Share the News

Recent News

Related News