जनचासो

२०८२ जेष्ठ १९ गते
00: 00: 00
२०८२ जेष्ठ १९ गते

मानवअधिकार समूहका सदस्यहरूका लागि तालिम

मधु पन्थी, पोखरा ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा मानवअधिकार समूहका पदाधिकारीका लागि क्षमता विकास तालिम २०८२ जेठ १७ गतेदेखि पोखरामा शुरू भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेशका कार्यालय प्रमुख नीतु गर्तौलाले मानवअधिकार अभियानलाई जिवन्त राख्न इन्सेकको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

समुदायमा विभेदका घटनाहरू भइरहेका र पीडितलाई कानुनी रूपमा न्यायका लागि अधिकारकर्मीहरू सक्रिय हुनुपर्ने आजको आवश्यकता रहेको उहाँले बताउनु भयो ।

मानवअधिकार हनन्का घटनामा इन्सेकले राज्यलाई ध्यानाकर्षण गराइरहेको उहाँको भनाइ छ । गैरसरकारी संस्था महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्काले गैरसरकारी संस्थाहरूले निरन्तर रूपमा मानवअधिकार प्रवर्धनका लागि काम गरिरहेको बताउनु भयो ।

पूर्वी नवलपरासी र कास्की जिल्लामा इन्सेकद्वारा गठन गरिएको मानव अधिकार समूहका पदाधिकारीहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरेको इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले बताउनु भयो ।

संयोजक खकुरेलले मानवअधिकार शिक्षा कार्यक्रम अन्तर्गत तीन वर्षदेखि पूर्वी नवलपरासीको देवचुली र मध्यविन्दु नगरपालिकाका साथै कास्कीको मादी र माछापुच्छ्रे गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी गराउँदै उहाँले स्थानीय समुदायलाई सचेत र जागरुक बनाउँदै मानव अधिकार प्रति स्थानीय सरकारलाई जिम्मेवार र जबाफदेही बनाउनका लागि कार्यक्रम सञ्चालन हुँदै आएको बताउनु भयो ।

दुई दिनसम्म मानव अधिकारको अवधारणा र मानव अधिकारको लागि मानव अधिकारकर्मीको भूमिका, महिला अधिकार र कार्यान्वयनको अवस्था, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, जातीय विभेद विरुद्धको अधिकार, सुशासन प्रवर्धनका लागि नागरिक समाजको भूमिका, नेतृत्व विकास लगायतका विषयमा सहजीकरण गरिने छ।

Share the News

Recent News

Related News