रुद्रबहादुर खड्का, सिन्धुली ।
हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा आयोजित आँखा र दाँतसम्बन्धी निःशुल्क शिविर २०८२ बैशाख २५ गते सकिएको छ ।
हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा काठमाडौँको नेपाल आँखा अस्पताल र ओम चाबहिल डेन्टल प्रालिको विशेषज्ञ डाक्टरहरुको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविर तीन दिनसम्म चलेको थियो ।
गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले भौगोलिक विकटता र जटिलताका कारण तथा आर्थिक अभावका कारण आँखा र दाँत जाँचबाट वञ्चित नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क शिविर सञ्चालन गरिएको बताउनु भयो ।
आँखा र दाँतको सामान्यदेखि जटिल रोग परीक्षणको लागि पनि बाहिर जानुपर्ने भएकोले ग्रामीण भेगका नागरिकले सास्ती खेपिरहनुपरेको भन्दै स्थानीय सरकारले अभिभावकत्व वहन गर्ने गरी काम गरिएको उहाँको भनाई छ ।
शिविरमा आँखा विशेषज्ञ डाक्टरद्वारा मोतीविन्दुको बिरामी पहिचान गरेर निःशुल्क शल्यक्रिया, चश्मा र औषधि वितरण गरिएको छ । यसैगरी दाँत विशेषज्ञ डाक्टरमार्फत दाँत परीक्षण, सफाई गर्नुको साथै दाँत निकाल्ने, निःशुल्क औषधि वितरण तथा परामर्श गरिएको आयोजकले जनाएको छ ।