ललितपुर । यही जेठ १८ देखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र औषतभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ ।
उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ४५ प्रतिशत, बागमती प्रदेशमा ३५ देखि ४५ प्रतिशत, गण्डकी र लुम्बिनी प्रदेशका दुई तिहाई भागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ ।
उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिम पहिरोदेखि हिमताल विस्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको विज्ञहरूको चेतावनी छ ।
विज्ञहरूको पूर्वानुमानलाई आधार बनाएर सरकारले पूर्वतयारीका कामहरू व्यवस्थित हिसावले गरिरहेको बताएको छ ।
जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुनी असरले पार्ने समस्या न्यूनीकरणमा सरोकारवाला निकायमात्र नभई आम नागरिकको भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो ।
डा. उप्रेतीकाअनुसार यस वर्षको जेठ १८ देखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र तापक्रम बढ्ने छ । ३० वर्ष यताकै धेरै वर्षा हुने उहाँको भनाइ छ ।
यस वर्ष देशका विभिन्न स्थानमा फरक फरक वर्षा हुने छ । मधेश प्रदेशकै उत्तरी भागको उच्च स्थान र चुरे क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने छ ।
यस वर्षको मनसुन औसत समयभन्दा झन्डै १० दिनअघि नै भारतको केरला आइपुगेको छ । बङ्गालको खाडीको धेरैजसो भाग, श्रीलङ्का पूरै र भारतको केरलामा मनसुन विकसित भइसकेको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो ।
उहाँका अनुसार केरलाबाट नेपालको कोशी प्रदेशमा आइपुग्न एक हप्ता हाराहारी लाग्छ । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख अर्थात् यस वर्ष जेठ ३० गते हो ।
तर, अब बीचमा नरोकिकन आएमा यस वर्ष औसतभन्दा झन्डै डेढ हप्ताअघि नै मनसुन आइपुग्ने देखिन्छ ।
मनसुनमा औसतभन्दा बढी वर्षा र तापक्रम हुने प्रक्षेपण सार्वजनिक भएसँगै खेतीपाती राम्रो हुने आशा बढेको छ । तर, वर्षा र तापक्रम बढ्दैमा खेतीपाती राम्रो हुन्छ भन्ने नरहेको विज्ञहरूले बताएका छन् ।