ललितपुर । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा प्रहरी अनुसन्धानको बाटो खुलेको छ।
१२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा २०८२ जेठ २१ गते संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेपछि सापकोटा र पूर्वऊर्जामन्त्री तथा माओवादी सांसद सूर्यमान दोङमाथि औपचारिक रूपमा अनुसन्धानको प्रक्रिया अघि बढ्ने बाटो खुलेको हो ।
दाप्चा छत्रेबाँझ गाविस-५ दाप्चाका अर्जुनबहादुर लामालई २०६२ वैशाख १६ गते दिउँसो कृष्ण मावि दाप्चाको प्राङ्गणबाट माओवादी कार्यकर्ताहरूले अपहरण गरेका र २०६२ असार ८ गते हत्या गरेको मानवअधिकारसम्बन्धी विभिन्न प्रतिवेदनमा उल्लेख छ ।
कृष्ण मावि दाप्चाको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाचित भएकोमा स्वागत कार्यक्रममा सरिक भइरहेको अवस्थामा अर्जुनबहादुर लामा अपहरणमा पर्नु भएको थियो ।
लामालाई अपहरणपछि हत्या गरेको भन्दै २०६४ असार २१ गते मृतककी पत्नी पूर्णिमायाले जिल्ला प्रहरी कार्यालयमा दोषीहरूको किटान गरी दिएको जाहेरी दरखास्त प्रहरीले लिन अस्वीकार गरेपछि प्रहरी प्रशासनलाई अपराधको सूचना दर्ता गर भनेर सर्वोच्च अदालतले भन्नुपर्ने अवस्था आएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले कर्तव्य ज्यान शीर्षकमा २०६५ साउन २७ गते मात्रै यो मुद्दा उजुरी दर्ता गरेको हो ।
रेडक्रसको अन्तर्राष्टि्य समिति (आइसिआरसि) ले लामालार्इ बेपत्ताको सूचीमा राखेको छ ।
सर्वोच्च अदालतको उत्प्रेषण आदेशपछि अब अनुसन्धान प्रक्रिमा पुनः गति आएको छ। पूर्णिमायाका कानुन व्यवसायी पुष्पराज पौडेलले अब प्रहरीले सापकोटालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन सक्ने स्पष्ट कानुनी बाटो खुलेकोसमेत बताउनु भयो ।
यससम्बन्धमा मानवअधिकार संस्था इन्सेकले तयार पारेको द्वन्दपीडित पार्श्वचित्रमा विस्तृतमा उल्लेख गरिएको छ ।