ललितपुर । संविधान संशोधनको विषयमा राजनीतिक वृत्तमा पुनः बहस सुरु भइरहँदा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकार र प्रमुख दलहरूप्रति गम्भीर प्रश्न उठाउनु भएको छ ।
एक अनलाइनसँग विशेष कुराकानी गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधान संशोधनजस्तो गम्भीर विषयमा “गोप्य सम्झौता” र “मध्यरातको छलफल” नगर्न एमाले र कांग्रेसलाई चेतावनी दिनु भएको छ ।
‘मध्यरातमा कसैले संविधान संशोधनको कुरा उठाउँछ ? दुई दलबीच गोप्य रूपमा सम्झौता हुन्छ ? यो त सबै नागरिकको सरोकारको विषय हो ।’-नेता नेपालको भनाइ छ।
उहाँका अनुसार संविधान कार्यान्वयनको अनुभवलाई हेर्दा अब समग्र समीक्षा आवश्यक भइसकेको छ । नेपालले समाजवादी मूल्यमा आधारित संविधान ल्याएको भए पनि व्यवहारमा यसको प्रभाव जनताले महसुस गर्न नसकेको दाबी गर्नु भयो ।
‘संविधानले सिंहदरबारको अधिकार गाउँमा पुर्याउने भन्यो, मौलिक हक सुनिश्चित गर्यो, तर जनताले त्यो व्यवहारमा पाएनन् ।’- उहाँले भन्नु भयो ।
नेकपा (एकीकृत समाजवादी) ले वरिष्ठ नेता प्रकाश ज्वालाको संयोजकत्वमा संविधान समीक्षा समिति गठन गरेको छ। यस समितिले कार्यान्वयनमा देखिएका चुनौतीहरूको समीक्षा गरी सुझाव तयार पार्ने पनि उहाँले बताउनु भएको छ।
संविधानको संशोधन सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासलाई सङ्केत गर्दै नेपालले भन्नु भयो-‘धेरै मुलुकमा १० वर्षपछि संविधानको समीक्षा गरिन्छ । नेपालमा पनि अब समय आएको छ-समीक्षा गरेर सुधार गर्ने ।’
उहाँले प्रदेश प्रमुख, राष्ट्रिय सभाको औचित्य, खर्च व्यवस्थापन लगायतका विषयमा पनि गहिरो बहस आवश्यक भएको उल्लेख गर्नु भयो ।
‘संविधानमा लेखिएका निर्देशक सिद्धान्तहरूको मूल्याङ्कन गर्नुपर्ने संवैधानिक व्यवस्था छ, तर त्यसको पालना भएको छैन ।’- अध्यक्ष नेपालले भन्नु भयो।
नेपालले संविधान संशोधनलाई सत्ता बाँडफाँडको औजार बनाउन खोजिए संविधानमाथि नै जनताको विश्वास गुम्न सक्ने चेतावनी पनि दिनुभएको छ ।
२०७२ सालमा जारी भएको नेपालको संविधानबारे १० वर्ष नपुग्दै विभिन्न दलहरूबिच पुनः संशोधनको बहस चर्किन थालेको छ । सङ्घीयता, नागरिकता, भाषिक अधिकार, निर्वाचन प्रणाली लगायतका विषयमा असन्तुष्टि जनाउँदै दलहरूले आ-आफ्नो एजेन्डा अगाडि ल्याइरहेका छन् । यद्यपि, सरकार र प्रमुख दलहरूले यसबारे कुनै औपचारिक पहल गरेका छैनन्। नेकपा एकीकृत समाजवादीका अध्यक्षसँग रातोपाटीका लागि नरेश ज्ञवालीले लिनु भएको अन्तर्वार्ताका आधारमा तयार पारिएको समाचार हो यो । विस्तृत अन्तर्वार्ता हेर्न यहाँ क्लिक गर्नुहोला