जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

कम्युनिष्ट पार्टीहरुबिच एकताको खाँचो

प्रेमलकुमार खनाल 

नेपालमा कम्युनिष्ट आन्दोलनको सङ्गठित रुपमा थालनी भएको ७६ वर्ष पूरा भएको छ। कमरेड पुष्पलालको अगुवाइमा  वि.सं. २००६ वैशाख १० गते तदनुसार १९४९ अप्रिल २२ , लेनिनको जन्मजयन्तीको दिन  भारतको कलकत्ता स्थित श्याम बजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । पाटी स्थापना गर्दा महासचिवमा पुष्पलाल  र सदस्यहरुमा नरबहादुर कर्माचार्य, निरन्जन गोवीन्द बैध, नारायण विलास जोशी र मोतीदेवी रहेका थिए ।

पहिलो पर्चामा कम्युनिष्ट पार्टी स्थापनाको कारण:

पार्टी स्थापनाको २ दिन पछि २४ अप्रिलमा नै नेपाली जनताका नाममा अपिल (पर्चा) प्रकाशित भयो ।  पर्चामा निरङकुश शासनको अन्त्य गर्ने, जनताको पूर्ण नागरिक स्वतन्त्रताको प्रत्याभूति गर्ने र किसान तथा मजदुरको अधिकारका लागि किसान मजदुरको सरकार गठन गर्ने र सामन्तबाद साम्राज्यबाद विरोधी नव प्रजातन्त्र ल्याउनका लागि कम्युनिष्ट पार्टी स्थापना भएको उल्लेख  भएको  थियो। 

पहिलो कम्युनिष्ट घोषणापत्र:

पार्टी स्थापनाको चार महिनापछि २००६ भदौ ३० गते (१५ सेप्टेम्बर १९४९) मा जारी भएको  पार्टीको प्रथम घोषाणपत्रमा नेपाली क्रान्तीको भावी दिशा १२ बुँदामा उल्लेख गरिएको थियो । जसमा सामन्तवाद एवम् साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्ती, किसान र मजदुरको नेतृत्वमा निर्वाचित सरकार, संविधान सभाबाट संविधान निर्माण, क्रान्तीकारी भुमिसुधार, श्रमिक एवं किसानको अधिकारको सुनिश्चितता, स्वाधीन अर्थतन्त्रको निर्माण र सर्वशुलभ शिक्षा जस्ता आधारभूत विषय उल्लेख गरिएको छ।

 पुष्पलालको सोचको सफलता:

कमरेड पुष्पलालले अगाडि सार्नु भएको विचार  अनुसार  २००६ सालदेखि शुरुआत भएको सामन्तवाद विरोधी आन्दोलन २०६२/०६३ मा  आइपुग्दा मात्रै  शान्तिपूर्ण जनक्रान्तीको सफलतासँगै सामन्तवाद ढल्यो । अर्थात सामान्ती राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणा गरियो ।  संविधानसभा गठन भयो । संविधान सभाले सात वर्ष लगाएर  २०७२ सालमा संविधान निर्माण गरी जारी गर्‍यो । संविधानले मुलुकलाई समाजवादको आधार निर्माण गरेर अगाडि बढन दिशाबोध गरेको छ। यस अर्थमा पुष्पलालले अगाडि सार्नु भएको गणतन्त्र र संविधानसभाबाट संविधान निर्माणको नाराले सफलता प्राप्त गरेको छ।

कम्युनिष्ट पार्टीको ध्येय वैज्ञानिक समाजवाद: 

पुष्पलाल पार्टी स्थापनाका क्रममै जनवादी गणतन्त्र र बैज्ञानिक समाजवाद कम्युनिष्ट पार्टीको लक्ष्य रहेको उल्लेख गर्नु भएको हो । २०६२/०६३ को जनक्रान्तिको सफलतासँगै २०७२ मा जारी भएको संविधानले समाजवादको दिशामा अगाडि बढाउने दिशाबोध गरेको छ।  अब संविधानले दिशाबोध  गरेका आधारमा अब मुलुकमा समाजवादी क्रान्ति गरेर समाजवाद स्थापनाका लागि  अगाडि बढ्नु पर्ने  युगिन दायित्व बामपन्थीहरूको काँधमा आएको छ।  

बामपन्थीहरुका सामू अभिभारा:

यतिखेर नेपाली अर्थ-रा-जनीतिमा हावी हुदै गएको दलाल पूँजीवादलाई नियन्त्रण र अन्त्य गरेर राष्ट्रिय पूँजीको निर्माण, गरेर औद्योगिकिकरणको थालनी सँगै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर मुलुकलाई समाजवादी बाटोमा अगाडी बढाउनु पर्ने ऐतिहासिक दायित्व बामपन्थीहरुका सामु आएको छ । 

कम्युनिष्टहरुले छुट्टै छुट्टै चुलो चौका किन बाल्नु ?

सबै   कम्युनिष्ट पार्टीहरुले  मार्क्सवाद-लेनिनवादीलाई  मार्गदर्शक सिद्धान्त मानेका छन् भने अब  पनि छुट्टा छुट्टै चुलोचौको बाल्नु पर्ने आवश्यक छैन । अब पनि माओवादी केन्द्रले माओवादको छुट्टै नाम राख्ने, एमालेले  पूँजीवादी क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादको कार्यक्रमलाई अब पनि आत्मसात गरेर हिँड्न आवश्यक  देखिँदैन । यस्तै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कम्युनिष्ट पार्टी, नेकपा  मसाल लगायतका पार्टीहरुले  अब समाजवादी  क्रान्तिको कार्यक्रम तय गरेर अगाडि बढ्न आवश्यक छ। यसबिचमा नेकपा एकीकृत समाजवादीले नेपाली विशेषताको समाजवादी क्रान्तिको कार्यक्रमलाई अगाडि सारिसकेको सन्दर्भमा सहि बिचार, कार्यक्रमका आधारमा यी कम्युनिष्ट पार्टीहरुबिच एकताको प्रचुर सम्भावना रहेको छ। 

कम्युनिष्ट  पार्टीहरुबिच एकताको बाधकः

नेपालका कम्युनिष्ट पार्टीहरुको सिद्धान्त, विचार, कार्यक्रम र कार्यदिशा समान भएर पनि  नेतृत्वको व्यवस्थापनका कारण कम्युनिष्टहरुबिच तत्कालै एकता हुँदैन भन्ने तर्क पनि हुने गरेको  छ । यस्तै बामपन्थीहरुमा रहेको डकम्याटिजम  सोच र उग्रबामपन्थी सोचले पनि एकतामा समस्या उत्पन्न गरेको छ । तर, बामपन्थीहरुबिच एकता हुनु आवश्यक  छ । जति बामपन्थीहरू भिन्नभिन्न हुन्छन्, त्यति नै बुर्जुवा वर्गले राष्ट्रिय राजनीतिमा पकड कायम गर्नेछन् । यसले नेपाली क्रान्तिलाई झन् झन् पछि पार्ने छ।

कसरी हुन सक्छ एकता ?

कम्युनिष्ट पार्टीबिच नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र कार्यक्रमिक प्रतिबद्धताका आधारमा एकताको सम्भावना छ । एकताको कुरा  अगाडि बढाइरहँदा शीर्ष नेतृत्वहरुमध्ये  एकले अर्कोलाई नेतृत्वमा स्वीकार गरेर   नेतृत्वको व्यवस्थापन हुन सक्छ । तर, एमाले र माओवादीबिच एकता भएर नेकपा बनाउँदाको जस्तो दुई  अध्यक्षको मोडल पनि हुन सक्ने तर्क पनि हुने गरेको छ । तर, यो खालको नेतृत्व व्यवस्थापन सफल हुन सकेन । शीर्ष नेतृत्वहरुले एकले अर्कोलाई स्वीकार्न सके त धेरै राम्रो हुने थियो । तर, शीर्ष नेतृत्वहरुले एकले अर्कोको नेतृत्व स्वीकार्न नसक्ने भएर नै पनि समस्या उत्पन्न हुने गरेको छ । तसर्थ अब सहि कार्यनीतिक कार्यदिशा भएर पनि नेतृत्व व्यवस्थापन हुन  नसक्दा  पहिलो पुस्ताका शीर्ष  नेतृत्वहरु रहेको प्रेसिडियम कमिटी  वा स्टेयरिङ कमिटी बनाएर शीर्ष नेतृत्वहरुले  अभिभावकत्वको भूमिका निर्वाह गर्ने  र  दोस्रो पुस्ताको नेतृत्वले पार्टीको दैनिक कार्यकारी साङ्गठनिक कामको नेतृत्व गर्ने नीति अवलम्बन गर्दा  पार्टी भित्र एउटा नयाँ पन सृजना हुनेछ । यसले राष्ट्रिय राजनीतिमा पनि सकारात्मक सन्देश प्रवाह पनि हुनेछ ।

सबै कम्युनिष्ट पार्टीमा दोस्रो पुस्ताले पहलकदमी लिन जरुरीः

नेतृत्व हस्तान्तरणको कुरा उठदा पहिलो पुस्ताका नेतृत्वले खोइ कोही पनि तयार छैनन् वा उमेरले छेक्दैन भनेर कार्यकारी नेतृत्वमा  रहिरहन लालयित हुने परिपाटीले पनि समस्या उत्पन्न गरेको छ। परिवर्तनको प्रवाहसँगै हिजो नेतृत्व गरेर आएका नेताहरुको काम र भूमिकाले पनि जनता उत्साहित भएका छैनन्। तसर्थ बैचारिक, सैद्धान्तिक एकता र नेतृत्वको व्यवस्थापनलाई नयाँ ढङ्गबाट सोच्ने हो भने कम्युनिष्ट पार्टीहरुबिच ध्रुवीकरण र एकिकरणको आवश्यकता छ । कम्युनिष्टहरुबिच एकता र सहकार्यका लागि सबै पार्टीभित्र दोस्रो पुस्ताको नेतृत्वले आफुलाई नेतृत्व गर्न सक्षमता देखाउन सके कम्युनिष्ट पार्टीहरुबिच एकता हुने र पुष्पलालले स्थापना गरेको  एक मात्र कम्युनिष्ट पार्टी निर्माणको दिशामा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सकिन्छ ।

अन्त्यमा

पार्टी स्थापनाको ७६ औँ वर्षगाँठ मनाइरहँदा नेपालका कम्युनिष्ट पार्टीहरु, तिनका नेता तथा कार्यकर्ताले अब एकता र एकिकरणको कार्यलाई नयाँ ढङ्गबाट चिन्तन् मनन् गर्न आवश्यक छ । कम्युनिष्ट पार्टीहरुबिच  मार्क्सवाद लेनिनवादको आलोकमा समाजवादी क्रान्तिको कार्यक्रम तयार गरेर यसका आधारमा सहकार्य र एकता गर्न आवश्यक  रहेको छ । यदि बामपन्थीहरू एकताबद्व भएनन् भने अल्पमतमा रहेका बुर्जुवा वर्गले नै  सत्ताको नेतृत्व गर्नेछन् । यसबाट मुलुक झन् झन् दुरुह अवस्थामा धकेलिने छ । तसर्थ एकताबद्व कम्युनिष्ट पार्टीको माध्यमबाट  निर्वाचनमा विजयी  हासिल गरेर   सरकारको नेतृत्व गर्दै  मुलुकमा आर्थिक-सामाजिक  रुपान्तरण र विकास गरेर समाजवादी क्रान्ति गरेर  मुलुकमा समाजवाद  स्थापना गर्ने महान अभियानमा  बामपन्थीहरू लाग्नुपर्छ ।

(खनाल नेकपा (एकीकृत समाजवादी) को पोलिटव्युरो सदस्य हुनुहुन्छ ।)