जनचासो

२०८२ जेष्ठ २१ गते
00: 00: 00
२०८२ जेष्ठ २१ गते

राजा वीरेन्द्रसँगै अवसान भएको थियो राजतन्त्र !

ललितपुर । राजा वीरेन्द्र र उहाँको वंश विनाश भएको दिनका रुपमा जेठ १९ लाई सम्झने गरिन्छ । २०५८ साल जेठ १९ को रात नारायणहिटी दरबारभित्र घटेको भयानक हत्याकाण्डले राजतन्त्रको मेरुदण्ड भाँचिएको थियो । त्यसैदिनबाट राजतन्त्र ह्वील चेयरमा पुगेको थियो । त्यो रात राजा वीरेन्द्र शाहको मात्र ज्यान गएको थिएन, सँगसँगै उहाँको सम्पूर्ण वंश नै समाप्त भयो । जुन घटना राजतन्त्रको अस्तित्वमाथिको सबैभन्दा ठूलो चोट सावित भयो ।

त्यसपछि सिंहासन सम्हाल्न पुग्नु भएका ज्ञानेन्द्र शाह र उहाँका सन्तानमा पनि राजा हुने योग्यताको अभाव रहेको कुरा स्वयम् विश्व हिन्दु महासङ्घ जस्तो संस्थाले स्पष्ट रूपमा सार्वजनिक गरिसकेको छ । तसर्थ, वीरेन्द्रको वंश नाशपछि आएको शक्तिको उत्तराधिकार जनविश्वासका दृष्टिले कहिल्यै स्वीकार्य बन्न सकेन ।

यसैबिच, हिन्दु धर्म र राजतन्त्रको विषयलाई एकै ठाउँमा राखेर गरिएको गोलमाल र भावनात्मक उक्साहट जनतालाई लामो समयसम्म छल्न सकेन । राजाका नाममा धर्मको प्रयोग र धर्मको नाममा राजतन्त्रको पुनरागमनको प्रयास–यी दुवै भ्रमपूर्ण रणनीतिहरूले जनचेतनाको युगमा कुनै प्रभाव पार्न सकेनन् ।

२०५८ जेठ १९ गते वीरेन्द्र परिवारको नाश भए पनि ज्ञानेन्द्रको वंशलाई कुनै क्षति नपुगेको कारणले पनि आम जनतामा शङ्का र अविश्वास उत्पन्न भयो । ज्ञानेन्द्र राजा भएपछि २०५९ असोज १८२०६१ माघ १९  गते ज्ञानेन्द्रद्वारा लिइएको निर्दयी जनदमनको नीतिले जनताको बाँकी रहेको विश्वास पनि समाप्त भयो । परिणामतः राजतन्त्रको वास्तविक अन्त्य तिनै घटनाहरूले होइन, जेठ १९ कै रातबाट सुरु भएको थियो ।

आजभोलि राजधानीमा भइरहेका राजतन्त्र पुनर्स्थापनाका आन्दोलन र भइरहेका छलफलमा गहिरो विश्लेषण गर्दा, समय कटाउने मेलोभन्दा बढी केही देखिँदैनन् । वर्तमान लोकतान्त्रिक यथार्थमा, राजाबाट शासन र सिंहासनमा फर्किने सपना अब केवल “सपनाका लड्डु” जस्तै हुनेछन्—देख्न मिठा तर हातमा केही नलाग्ने । आफू राजगद्दीमा आएपछि आफ्नै दाजूको वंश विनाश गर्नेको पत्तो लगाउन नसकेका र कारवाही गर्न नसकेका विगतबाट थाहा लाग्छ कि आगामी दिनमा ज्ञानेन्द्रका लागि जस्तो शासकीय अधिकार भएपनि आम मानिसले न्याय पाउन सक्ने छैनन् ।

Related News