दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथि संसदले लगाएको महाभियोगलाई संवैधानिक अदालतले सदर गरेको समाचार संस्थाहरूले जनाएका छन् । अदालतले गरेको सदरसँगै युन पदच्युत हुनुभएको जनाइएको छ । यो निर्णय २०२५ अप्रिल ४ मा आएको हो ।
राष्ट्रपति युनले २०२४ डिसेम्बरमा मार्शल ल लागू गर्नु भएको थियो जसलाई अदालतले असंवैधानिक ठहर गरेको छ । अदालतका अनुसार, युनले सैन्य र प्रहरी शक्तिको दुरुपयोग गरी संसदको अधिकारमा हस्तक्षेप गर्नु भएको थियो । राष्ट्रपतिको सो कदमले समाज, अर्थतन्त्र र वैदेशिक सम्बन्धमा अशान्ति उत्पन्न गराएको अदालतले जनाएको छ ।
महाभियोगपछि राष्ट्रपति पदच्युत भएका यो दक्षिण कोरियाको इतिहासमा दोस्रो पटक हो । यसअघि २०१७ मा पार्क ग्युन हेलाई हटाइएको थियो।
अहिले कार्यवाहक राष्ट्रपति हान डक-सूले ६० दिनभित्र नयाँ निर्वाचन सम्पन्न गर्नु पर्ने पनि अदालतको आदेशमा उल्लेख भएको कोरियाबाट प्रकाशित पत्रपत्रिकाले जनाएका छन् । यसैबिच, युन सुक योलमाथि विद्रोहको आरोपमा छुट्टै आपराधिक मुद्दासमेत चलिरहेको छ ।
यस घटनाले दक्षिण कोरियाको राजनीतिक वातावरणमा ध्रुवीकरण ल्याएको छ । केही स्थानमा युनका समर्थकहरूले प्रदर्शन गरेका छन् भने अन्यत्र पदच्युतिलाई समर्थन गर्दै उत्सव मनाइएको छ।