ललितपुर । देश भरका पेसाकर्मीहरुको छाता सङ्गठन पेसागत महासङ्घ नेपालले आन्दोलनरत शिक्षकका माग यथाशक्य पूरा गर्न आग्रह गरेको छ ।
महासङ्घले २०८२ बैशाख १२ गते एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासङ्घले उठाएका माग र आन्दोलनमा पेसागत महासङ्घ नेपालले शुरुआत देखि नै सहयोग र ऐक्यबद्धता प्रकट गर्दै आएको जनाएको छ ।
‘पेसागत महासङ्घ नेपालले २०८१ चैत १३ गते तत्कालिन शिक्षा मन्त्री विद्या भट्टराई समक्ष डेलिगेसन गई शिक्षकका माग पूरा गर्न सुझाव राख्दै ध्यानाकर्षण गराएको हो तर सरकारबाट महासङ्घको सुझाव अनुसार गम्भीरतापूर्वक नलिँदा शिक्षकहरुको काठमाडौँ केन्द्रीत आन्दोलनमा हुनुहुन्छ । शिक्षक आन्दोलन अगाडि बढ्ने क्रममा राष्ट्रिय रुपमा मात्रै होइन अन्तर्राष्ट्रिय स्तरका शिक्षक सङ्गठन र ट्रेड युनियनहरुबाट सहयोग र ऐक्यबद्धता सन्देश आइरहेको छ ।’-विज्ञप्तिमा भनिएको छ ।
महासङ्घका महासचिव राजन रेग्मीद्वारा जारी विज्ञप्तिमा शिक्षकहरुले सेवा सुरक्षा, वृत्ति विकास, न्यूनतम तलब र सामाजिक सुरक्षाका सुविधाको सुनिश्चितता, ट्रेड युनियन अधिकारको सुनिश्चितता एवम् सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि सरकारले चाल्नुपर्ने कदमका विषयमा विगतमा माग राखेको र सरकारले पटकपटक सम्झौता गरेको तर कार्यान्वयन नगरेपछि शिक्षकहरु बाध्यतावस आन्दोलनमा उत्रनु परेको उल्लेख छ ।