मधु पन्थी, पोखरा ।
पोखरामा जारी कोटिहोम विराट ज्ञान महायज्ञमा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको पुरस्कार २०८२ जेठ १८ गते वितरण गरिएको छ ।
प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी पहिलो हुँदै नगद ५१ हजार १ सय ५१ र सम्मानपत्र पाउनु भएको छ ।
त्यसैगरी पर्वत मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल दोस्रो हुँदै नगद ४१ हजार १ सय ४१ र सम्मानपत्र तथा पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तेस्रो हुँदै नगद ३१ हजार १ सय ३१ र सम्मानपत्र पाउनु भयो ।
कुस्मा पर्वतस्थित नमुना आवासीय माविकी सजता गिरी, स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटीका माविकी रितिका केसी, लमजुङको मध्यनेपालस्थित कुशुमाकर माविका सचित घिमिरेले सान्त्वना स्वरुप नगद २१ हजार एक सय २१ र सम्मानपत्र पाउनु भएको छ ।
प्रतियोगितामा चार जना प्रतियोगितालाई उत्प्रेरण स्वरूप पुरस्कार प्रदान गरिएको थियो । यसरी उत्प्रेरण पुरस्कार पाउनेमा बाँकेको कोहलपुरस्थित जनता आदर्श माविकी भावना सिंह ठकुरी, जुम्लाको कनकासुन्दरी माविकी अस्मिता विश्वकर्मा, नवलपरासी सुनवलस्थित जगन्नाथ माविकी प्रशंसा महतो, स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ माविकी अमृता गुरुङ रहनु भएको छ । चारै जनालाई जनही १० हजार र सम्मानपत्र दिइएको छ ।
जेठ ११ देखि सुरु भएको प्रतियोगिता १४ गतेसम्म चलेको थियो । प्रतियोगितामा देशभरबाट १ सय भन्दा बढीले नाम दर्ता गराए पनि ८० जना बिच प्रतिस्पर्धा भएको प्रतियोगिताका संयोजक संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिनु भयो ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगीहरूले आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए । प्रतियोगिताको संयोजक तथा निर्णायकमा संस्कृतिविद् डा. तुलसी प्रभास, महाकाव्यकार माधव वियोगी र शिक्षाविद् भगवती न्यौपाने रहनु भएको थियो ।
यसै गरी राष्ट्रिय भजन प्रतियोगिता पनि समापन भएको प्रतियोगिता संयोजक प्रजापति पराजुलीले जानकारी दिनु भयो । उहाँका अनुसार प्रतियोगिताको नतिजा घोषणासँगै पुरस्कार वितरण जेठ २० गते हुनेछ । महायज्ञका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार कोटीहोममा देशभरबाट भक्तजन आउने क्रम जारी छ ।
कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहनु भएको छ । उहाँले जेठ २६ गतेसम्म कथा वाचन गर्नु हुनेछ ।
अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसक्नु भएको छ ।
कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मंगल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, मांगलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।
साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिनु भयो ।