रुद्रबहादुर खड्का, सिन्धुली ।
हरिहरपुरगढी गाउँपालिकामा बसोबास गर्ने कृषक शुकदेव राई ५६ वर्षको हुनु भयो । उहाँले केही वर्षदेखि गाउँपालिका स्तरको बजार, सिन्धुली बजार तथा काठमाडौंको दरबारमार्गमा रहेको रैथाने कृषि बजारमा आफ्नो जागरण कृषक समूहले उत्पादन गरेका अन्य तरकारी तथा फलफूल जस्तै तरबुजा बेच्ने गरेका छन् ।
चार बिगाहा जमीनमा रोपेको तरबुजाको उत्पादन कस्तो हुने होला, यो फलले सिन्धुलीका बजार लगायत अन्यत्रको बजारमा स्थान पाउला वा नपाउला भन्ने पिर कृषक राईलाई लाग्थ्यो ।
तर, तरबुजा गाडीमा राखेर काठमाडौंको दरबारमार्गका चोक गल्लीमा सजिलै बिक्री हुनसक्छ भन्ने कुरा त उनको सोचाइ भन्दा पृथक कुरा थियो ।
कृषक राई व्यावसायिक रुपमा कृषि पेसामा लागेको चार वर्ष भएको छ । हरिहरपुरगढी गाउँपालिका अन्तर्गत स्थानीय सरकार आएपछि उहाँले प्रत्यक्ष रुपमा कृषि कार्यमा जोडिने मौका मिलेपछि बाह्रै महिना मौसम अनुसारको कृषि व्यवसाय गर्दै आइरहनु भएको छ ।

उहाँको घरपरिवार अहिले आ-आफ्नो पेसा व्यवसायमा सक्रिय छन् । कृषक शुकदेवका पतिपत्नीको जीवनयापनमा यही कृषि पेसाबाट मनग्गे आम्दानी भएको बताउनुहुन्छ ।
कृषक राई संलग्न रहनुभएको जागरण कृषि समूहमा १२ जना सदस्य छन् । शुकदेव समूहको सचिव हुनुहुन्छ । यो मौसममा अहिलेसम्म ४ लाख रुपियाँ जतिको तरबुजा बिक्रीवितरण भएको उहाँ बताउनुहुन्छ ।
कृषिमा व्यावसायिक हुन हरिहरपुरगढी गाउँपालिकाको कृषि शाखाले तालिम, बिउ, कृषि औजारदेखि उत्पादन गरेका वस्तु बजारसम्म बिक्रीवितरण गर्न सहयोग गरेको उहाँले बताउनु भयो ।
जागरण कृषि समूहले उत्पादन गरेका तरबुजा बिक्रीवितरणको लागि गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबा, उपाध्यक्ष चेकबहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकारालगायत कर्मचारीहरु प्रत्यक्ष रुपमा उपस्थित हुनुहुन्छ ।
सरस्वती जातको तरबुजा दरबारमार्गलगायत अन्य ठाउँको कृषि रैथाने बाली बजारमा बिक्रि गर्दा धेरै ग्राहकको रोजाइमा परेको उहाँहरूको बुझाइ छ ।

कृषि शाखाका प्रमुख प्रवेश देवकोटाका अनुसार हरिहरपुरगढी गाउँपालिकामा चार बिगाहा जमीनमा खेति गरिएको छ । गत वर्षहरुमा तरबुजाको विरुवा वितरण गरिएको थियो । तर, उत्पादन कति भएको थियो भन्ने एकिन नहुँदा यस वर्ष भने जागरण कृषि समूहलाई तरबुजा खेतीको लागि अगाडि सारिएको हो ।
बागमती प्रदेश सरकार हेटौडाबाट ससर्त अनुदान ६ लाख प्राप्त भएको थियो भने गाउँपालिकाले कार्यक्रम संचालन गर्न १२ लाख सहयोग गरेको प्रमुख देवकोटा बताउनुहुन्छ । १० हजार किलो जति तरबुजा बिक्री भइसकेकोले र अरु ४० हजार किलो जति जमीनमा रहेको देवकोटा बताउनुहुन्छ ।
जागरण कृषक समूहले गरेको तरबुजा खेति गाउँपालिकाको कृषि कार्यक्रममा रहेको छ । खेतीको लागि आवश्यक पर्ने कृषि सामग्री गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले आँप, एभोकाड़ो, विभिन्न जातका बेमौसमी तरकारी खेतीमा सहयोग गरेको छ भने परीक्षणको लागि तरबुजा खेति गाउँपालिकाले गर्दै आइरहेको छ ।
अध्यक्ष बज्रध्वज वाइबाले गाउँबाट युवाहरु बाहिरिन थालेको अवस्थामा व्यवसायिक कृषिलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले यस्ता खालका कार्यक्रमले कृषि पेसामा आकर्षण बढेको र गाउँपालिकाले जति सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
जागरण कृषक समूह हरिहरपुरगढी गाउँ पालिकामा व्यावसायिक कृषिको लागि एक सफल उदाहरण बनेको छ ।