जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

विकास, समृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्वपुर्णः मुख्यमन्त्री कार्की

निशान्त ढुङ्गाना, विराटनगर ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देशको विकास, समृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । २०८२ बैशाख १२ गते विराटनगरमा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिद्वारा आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती’ विषयक अन्तरसम्वादमा बोल्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्र विकासको महत्वपूर्ण साझेदार रहेको बताउनु भएको हो ।

कार्कीले कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते आयोजना गर्न लागेको प्रदेशस्तरीय लगानी सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रको अपरिहार्य भूमिका रहने बताउँदै निजी क्षेत्रलाई महत्वपूर्ण साझेदारको रुपमा स्थान उपलब्ध गराइने जानकारी दिनु भयो ।

मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारले उद्योगी तथा व्यवसायीको हित प्रवर्धनलाई ल्याएको अध्यादेशकै अर्को कडीको रुपमा प्रदेश समेत व्यावसायिक नीति स्पष्टताका लागि सात ओटा कानुन संशोधन गर्ने तयारी गरेको जानकारी दिनु भयो ।

अन्तरसम्वादमा बोल्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाले प्रदेशस्तरीय लगानी सम्मेलन समृद्धि र विकासका लागि उपयुक्त मञ्च हुने भन्दै निजी क्षेत्रलाई साथमा लिएर हिँड्नु पर्नेमा जोड दिनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेश र स्थानीय सरकारले लगानी सम्मेलनको आयोजना गर्नु सकारात्मक पहल भएपनि लगानीकर्तालाई सहजीकरण र प्रोत्साहन गर्ने कुरा अधिक महत्वको रहेको बताउनु भयो ।

कोशी प्रदेशका कृषि सहकारी तथा उद्योगमन्त्री खगेनसिंह हाङगामले प्रदेशको विकासका लागि जलविद्युत, जडिबुटी प्रशोधन लगायतको क्षेत्रमा अधिक लगानी हुनुपर्ने बताउनु भयो ।

Share the News

Recent News

Related News