जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

मर्यादित पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो: प्रदेश प्रमुख भट्ट

मधु पन्थी, पोखरा ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीले २०८२ जेठ २ गते आयोजना गरेको गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार समारोहमा भट्टले सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसाथ गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी रहेको उल्लेख गर्नु भयो ।

‘नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापना एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय छ ।’-उहाँले भन्नु भयो- ‘पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति ईमान्दारिता प्रदर्शन गरिरहेका छन् । नेपाली मिडियाले समकालीन परिप्रेक्ष्यमा असल अभिभावकीय भूमिका निर्वाह गर्दै राष्ट्र निर्माण प्रक्रियामा अभियन्ताको रूपमा उभ्याउँदै लैजानुपर्छ ।’

प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गर्दै उहाँले डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयम् क्रियाशील हुनेछन् भन्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको भन्दै उहाँले संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि प्रतिबद्ध रहनुपर्ने उल्लेख गर्नु भयो ।

गण्डकी प्रदेशको प्रदेश प्रमुख नियुक्तिपछि पहिलो विधेयक प्रमाणिकरण नै पत्रकारहररू सम्बन्धित आमसञ्चार ऐन २०८० रहेको स्मरण पनि उहाँले गर्नु भयो ।

पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार माधव शर्मा, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेललगायतले बोल्नु भएको थियो ।

पत्रकारद्वय केशव पाठक र दुर्गा अधिकारी नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा प्रदान गरिएको गजेन्द्र भण्डारी सृजनशिल रास्ट्रिय पत्रकारिता पुरस्कार २०८१ र २०८२ बाट पुरस्कृत हुनुभएको छ ।

Share the News

Recent News

Related News