ललितपुर । सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका लागि अध्यक्ष र सदस्य पदमा संक्षिप्त सूचीमा परेका व्यक्तिहरुका बारेमा प्रतिक्रिया जनाउन नाम छनोट तथा सिफारिस समितिले सार्जनिक आह्वान गरेको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि ३४ जनाको नाम संक्षिप्त सूचीमा सार्वजनिक गरेको सिफारिस समितिले ती नामावलीप्रति प्रतिक्रिया दिन भनेको हो ।

प्रतिक्रिया जनाउने समयअवधि यही वैशाख २० गते ५ बजेसम्मका लागि तोकिएको छ । सिफारिस समिति समक्ष आइपुग्ने गरी लिखित वा विद्युतीय रुपमा प्रतिक्रिया जनाउन समितिले आह्वान गरेको हो ।
यसअघि यी दुई आयोगका पदाधिकारी र सदस्यका लागि आवेदन दिएका १ सय ११ आवदेकहरुमध्ये ३४ जनाको नाम संक्षिप्त सूचीमा सार्वजनिक गरिएको थियो ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको नाम छनोट तथा सिफारिस समितिले संक्षिप्त सूचीमा परेकाहरुको प्रस्तुतीकरणको प्रक्रिया पनि सँगै अघि बढाइएको छ । प्रस्तुतीकरण वैशाख २४ गतेदेखि सुरु भई २६ गते सकिने छ ।