जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

पदाधिकारीको लागि छोटो सूची सार्वजनिक गर्ने तयारीमा सिफारिस समिति

ललितपुर । सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई ओटै आयोगका पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समितिले समितिमा आएका निवेदनहरूमध्येबाट छोटो सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।

सङ्क्रममणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि नाम सिफारिस गर्न गठन भएको पदाधिकारी सिफारिस समितिले १ सय ११ जनाको नाम मध्येबाट छोटो सूची तयार गर्न लागेको समितिकी प्रवक्ता डा. लिली थापाले जानकारी दिनु भयो ।

यसअघि समितिले चैत २८ गते सूचना प्रकाशित गर्दै व्यक्तिगत तथा संस्थागत तर्फबाट आवेदन आह्वान गरेको थियो । आयोगको पदाधिकारीका लागि व्यक्तिगत तर्फबाट ८२ जनाले आवेदन दिएका थिए । संस्थागत सिफारिसबाट २९ जनाको नाम समितिसमक्ष पेश गरिएको थियो ।

सिफारिस समितिका प्रवक्ता लिली थापाले सार्वजनिक नाममा अध्ययन र छलफल भइरहेकाले चाँडै छोटो सूची सार्वजनिक गर्ने तयारी भएको बताउनु भएको छ ।

सिफारिस समितिको सर्ट लिस्टमा परेकाहरुमध्येबाट दुवै आयोगका लागि २ अध्यक्षसहित १० जना पदाधिकारी नियुक्त गर्नुपर्ने छ । दुवै आयोगले सशस्त्र द्वन्द्वको अवधिमा भएगरेका मानव अधिकार उल्लङ्घनको सत्यतथ्य पत्ता लगाएर कारवाहीको सिफारिश गर्ने कार्यादेश पाएका छन् ।

सरकारले २०८१ चैत ११ गते सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । यसअघि काम पूरा गर्न असमर्थ रहेको समितिलाई पुनः जिम्मेवारी दिँदै २ महिनाको समयसीमा तोकिएको छ । 

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस

Share the News

Recent News

Related News