ललितपुर । काठमाडौँ उपत्यकाको सांस्कृतिक आकाशमा आज २०८२ जेठ १८ गतेको दिनलाई विशेष मानिन्छ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाउने भएको हुँदा यो दिन विशेष हुने भएको हो । भोटो जात्रा नामले प्रख्यात यो सांस्कृतिक पर्वमा ललितपुर, भक्तपुर र काठमाडौँका तीन ओटै जिल्लाभित्र सार्वजनिक बिदा पनि दिइएको छ।
भोटो मात्र होइन, सांस्कृतिक सम्पत्तिको प्रदर्शन
करिब ८ सय वर्ष पुरानो इतिहास बोकेको यो जात्रा, प्रारम्भमा ‘जावलाखेल जात्रा’ का रूपमा चिनिन्थ्यो। ‘जा’ अर्थात् भात र ‘वला’ अर्थात् छर्ने भन्ने नेवारी भाषाको संयोजनबाट आएको यो नाम, समुदायको दैनिक जीवन र परम्परालाई सांस्कृतिक उत्सवमा परिणत गरिएको सशक्त उदाहरण हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार, भोटो जात्राको साइत हेर्ने कार्य निकै संवेदनशील रहँदै आएको छ ।
आख्यान र आस्थाको सङ्गम–भोटोको किम्वदन्ती
किम्वदन्तीअनुसार, करिब १ हजार ३ सय वर्षअघि नागराज कर्कोटककी रानीको आँखामा समस्या भएपछि एक किसानलाई वैद्य ठानी टौदह लगिएको थियो ।
तिनै किसानले मच्छेन्द्रनाथको नाममा औषधि दिएपछि रानी निको भइन् र पुरस्कारस्वरूप मणिमाणिक्य जडित भोटो किसानलाई दिइयो ।
तर, कथा यहीं सकिँदैन-भोटो हराउँछ, एक भूतले त्यसलाई लगाएको देखिन्छ । दुवै पक्षको दाबीका बिच अन्ततः त्यो भोटो मच्छेन्द्रनाथको जिम्मामा दिइन्छ । त्यसैबेलादेखि ‘भोटो देखाउने’ परम्परा प्रारम्भ भएको विश्वास रहिआएको छ ।
विगत केही दशकदेखि भोटो गुठी संस्थान ललितपुरका प्रतिनिधिद्वारा, राष्ट्राध्यक्षको उपस्थितिमा यो भोटो कसको हो भनी देखाइँदै आएको छ । भोटो देखाउने क्षण केबल धार्मिक वा सांस्कृतिक नभई, राष्ट्रिय एकताको प्रतीकका रूपमा समेत लिइन्छ।
त्यसैले आजको दिन केवल एउटा भोटो देखाउने दिन मात्र होइन, इतिहास, किम्वदन्ती, आस्था र साझा पहिचानको पुनः पुष्टि गर्ने अवसर पनि हो । र, यही कारणले, सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएर यो अवसरको महत्त्व औपचारिक रूपमा मान्यता दिएको छ ।