जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

कोटीहोमको अवसरमा पोखरामा र्‍याली

मधु पन्थी, पोखरा ।

पोखरा महानगरपालिका-१७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्‍याली २०८२ बैशाख ११ गते बिहान सम्पन्न गरेको छ ।

साईकल सिटी पोखराका पुर्व सदस्य, लायन्स अन्तरराष्ट्रिय डिष्टिक्ट ३२५ एलका सेकेण्ड भाईस डिष्टिक्ट गभर्नर तथा पोखरा विश्व विद्यालयका सह प्रशासक तेज नारायण पराजुलीले उद्घाटन गरेसँगै सुरु भएको साइकल र्याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको हो ।

र्‍याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो ।

र्‍यालीमा सयौं स्थानीयवासी, युवा, र साइक्लिङ मा उत्साहजनक सहभागिता रहेको थियो । महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्ति महाराजले र्‍यालीले स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवर्धनको सन्देश प्रवाह गरेको बताउनु भयो ।

“यो र्‍यालीले इन्धनको बचत, मानव स्वास्थ्यको प्रवर्धन र पोखरा भ्रमण वर्ष २०२५ को विकासमा योगदान पुर्‍याउने हाम्रो लक्ष्यलाई सार्थक बनाएको छ ।”-उहाँले भन्नु भयो । उहाँले र्‍यालीमा सहभागी सबैलाई धन्यवाद दिँदै पोखरेलीहरूलाई महायज्ञको अभियानमा जोडिन आह्वान गर्नु भयो ।

मानवसेवा फाउण्डेशनका अनुसार, कोटिहोम महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । बैशाख १२ गते मोटरसाइकल र्‍याली, बैशाख १३ गते ट्याक्सी र्‍याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली र बैशाख १६ गते बृहत् कलश यात्रा आयोजना हुने कार्यक्रम रहेको छ ।

यो साइकल र्‍यालीले धार्मिक, सामाजिक र पर्यटकीय सन्देशलाई एकसाथ प्रवाह गर्दै पोखराको सांस्कृतिक र पर्यटकीय महत्वलाई थप उजागर गरेको आयोजकको भनाइ छ । ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले घ्यू, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर आउन भक्तजनलाई अनुरोध गरिएको छ ।

कोटीहोम स्थलमा बैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण समेत भएको फाउण्डेशनले जनाएको छ । कोटीहोममा सुश्री अनुराधा पाण्डेयले भागवत कथा प्रवचन २०८१ चैत २९ गतेबाट दिन समेत सुरु गर्नु भएको थियो ।

देवी प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन गर्नेछन् । शुक्रबारदेखि देवी प्रतिभाले भागवत प्रवचन दिनहुँ दिइरहनुभएको छ । कोटीहोम २०८२ बैशाख १७ देखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा हुने आयोजकले जानकारी दिएको छ ।

यज्ञका दिनहरूमा विविध आध्यात्मिक गतिविधिहरू सञ्चालन गरिने पनि आयोजकले जनाएको छ । जसमा कथा वाचन, भजन, प्रवचन, यज्ञ, सत्सङ्ग, सत्कार्य र सेवा केन्द्रित रहेका छन् । आयोजक समितिका अनुसार १६ गते पछाडि राष्ट्रियस्तरका धार्मिक वक्ताहरू तथा कलाकारहरूको उपस्थिति रहनेछ ।

गण्डकी कोटिहोम महायज्ञ केवल धार्मिक अनुष्ठानको रूपमा सीमित नरही, समाजमा सहकार्य, समर्पण र सद्भावको नयाँ आयाम खोल्ने माध्यम बनेको जनाइएको छ । वडाध्यक्षदेखि प्रेस रजिस्टारसम्मको नाचगानले देखाएको आत्मीय सहभागिता, नगर प्रमुखको सक्रियता, र आम जनताको आस्था—यी सबैले मिलेर महायज्ञलाई सफलताको शिखरमा पु–याइरहेका छन् ।

Share the News

Recent News

Related News