जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

कोशी र लुम्बिनीको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकता

ललितपुर । कोशी र लुम्बिनी प्रदेशसभामा २०८२ जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिएको चासोकर्मीले जनाएका छन् । दुवै प्रदेशमा कृषि र कृषकलाई प्राथमिकता दिइएको छ । कोशी प्रदेशले कृषक सबैभन्दा अगाडि भन्ने नारा तय गरेको छ भने लुम्बिनी प्रदेशले कृषकका गराः सधैँ हराभरा भन्ने नारा अघि सारेको छ ।

कोशी प्रदेश सरकारले राष्ट्रध्यक्ष र प्रधानमन्त्रीको जन्मस्थल र घरको संरक्षण गर्ने नीति पनि लिएको छ । नीति तथा कार्यक्रममा भनिएको छ-‘कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूति, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनु भएका व्यक्तित्वको सम्मानार्थ परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइने छ ।’

मैथिली र लिम्बू भाषालाई प्रदेशको कामकाजको भाषा बनाइने भएको छ । सबै प्रकारका विभेद र हिंसामुक्त प्रदेश निर्माण गर्ने सरकारले नीति बनाएको छ ।

सडक मानवमुक्त प्रदेश बनाउने सरकारको नीति छ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान मार्फत स्वास्थ्य साक्षरता सञ्चालन गर्ने भएको छ । कोशी प्रदेश जलवायु सम्मेलन आयोजना गर्ने नीति पनि छ ।

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रलाई ‘कोशी अत्यावश्यक सेवा केन्द्र’ मा रूपान्तरण गर्ने सरकारको योजना छ । यातायात व्यवस्था कार्यालयमा सुरुवात भएको विद्युतीय भुक्तानी प्रणालीलाई थप सुदृढ गर्ने सरकारको नीति छ ।

सवारी दर्ता, नवीकरण, सवारी चालक अनुमतिपत्र जारी तथा नवीकरण लगायतका सेवामा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने नीति सरकारको छ ।

कृषि, पशुपन्छी र मत्स्य क्षेत्रमा अनुभव र ज्ञान हासिल गरेका व्यावसायिक कृषकमार्फत सेवा प्रवाह र क्षमता अभिवृद्धि गर्ने योजना बनाएको सरकारले अगुवा कृषकलाई सम्मान गर्ने र ‘कृषक सबैभन्दा अगाडि’ भन्ने अवधारणालाई कार्यान्वयन गर्न कृषक केन्द्रित अभियान सञ्चालन गर्ने नीति लिएको छ ।

लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभामा पढेर सुनाउनु भयो ।

नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, पर्यटन र सिँचाइलाई प्राथमिकतामा राखेको छ । कृषिमा बाँझो जमिनको उपयोगदेखि करारखेतीसम्मका कार्यक्रमलाई अघि सारिएको छ ।

प्रदेश आयोजना बैङ्क, प्रदेश गौरवका आयोजना सम्पन्न गर्न प्राथमिकता, अधुरा आयोजना निर्माणलाई प्राथमिकता दिने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै प्रदेश सरकारले स्वदेशी वस्तु एवम् उत्पादनको प्रयोग, उद्यमशीलता, रोजगारीको अवसर, युवा लक्षित कार्यक्रम अघि सारेको छ ।

सिँचाइ र कृषिको पारस्परिक सम्बन्धलाई प्रभावकारी बनाई ‘कृषकका गराः सधैँ हराभरा’ भन्ने अभियानलाई कार्यान्वयनमा लैजान प्रदेशका सबै जिल्लामा कम्तीमा एउटा सिँचाइ र कृषिको एकीकृत योजना कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Share the News

Recent News

Related News