पोखरा । गण्डकी प्रदेशस्तरीय पहिलो न्यायिक सम्मेलन २०८२ बैशाख २८ र २९ गते आयोजना गरिएको छ । गण्डकीको समृद्धि, पर्यटन, न्याय र शान्ति भन्ने नाराका साथ दुईदिने सम्मेलनको आयोजना गरिएको हो ।
बागलुङ नगरपालिका न्यायिक समितिको आयोजनामा भोलि र पर्सी सम्मेलन हुने नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।
सम्मेलनमा न्यायिक समितिका अहिलेसम्मको काममा आएका समस्या र समाधानको उपायबारे बहस र छलफल हुनेछ ।
कार्यक्रममा कानुनविद् काशीराज दाहालले न्यायिक सेवा र मेलमिलाप, गण्डकी प्रदेश नीति आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले गण्डकीको समृद्धि, पर्यटन, न्याय र शान्ति तथा मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले गण्डकी प्रदेशमा न्यायिक कार्यसम्पादनमा एकरुपता विषयक कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।
कार्यक्रममा गण्डकी प्रदेशका ८५ ओटा स्थानीय तहका उपप्रमुख, बागलुङका १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, पर्वतको कुश्मा, जलजला र म्याग्दीको बेनी नगरपालिकाका प्रमुख र उपप्रमुख पनि सहभागी हुने समितिका सदस्य ज्ञानेन्द्र गौतमले जानकारी दिनु भयो ।