ललितपुर । दक्षिण कोरियाको राष्ट्रपति पदको निर्वाचनमा विपक्षी नेता ली जाय म्युङले सफलता पाउनु भएको द वासिङ्टन पोष्टले जनाएको छ ।
सैन्य शासनका कारण ६ महिनादेखि विवादमा रहेको दक्षिण कोरियामा २०८२ जेठ २० गते निर्वाचन भएको थियो ।
यस ६ महिनाको अवधिमा राष्ट्रपति योन सुक योलविरुद्धमा विरोध प्रदर्शन हुनुका साथै महाभियोग पनि लागेको थियो। जितका बाबजुद लीका लागि समय कठिन रहेको रोयटर्सले जनाएको छ ।
देशभित्र ध्रुवीकरण त्यत्तिकै छ भने देश बाहिरको अवस्था पनि असहज छ । दक्षिण कोरियाको नजिकको सम्बन्ध रहेको अमेरिकाले अहिले आयात करमा जोड दिएको छ । लीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आगामी दिनमा गर्ने वार्ता पनि महत्त्वपूर्ण हुने छ।
लीले दक्षिण कोरियामा प्रजातान्त्रिक मूल्य र मान्यतामा प्रश्न उठेकै कारण यसलाई फेरि प्रजातन्त्रका प्रति विश्वास दिलाउन आवश्यक रहेको बताउनु भएको छ ।
६१ वर्षीय लीले तीन वर्षअघि युनसँग झिनो मतले पराजयको सामना गर्नु भएको थियो ।