ललितपुर । नेपाल चिकित्सक सङ्घले २०८२ वैशाख १२ गतेदेखि सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।
बैशाख ११ गते नै विज्ञप्ति जारी गरी चिकित्सक सङ्घले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गर्दै यस्तो चेतावनी दिएको हो ।
काठमाडौँ उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बिहान ११ बजे माइतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा र उपत्यका बाहिर जिल्ला प्रशासन कार्यलयमा धर्ना दिने कार्यक्रम रहेको पनि सङ्घले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तह (४८ हजार रुपियाँ मासिक) को भत्ता दिनुपर्ने उनीहरुले माग राखेका छन् । तर, निजी कलेज सञ्चालकहरु आफूहरुले त्यो दिननसक्ने अडान लिइरहेका छन् ।