ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, बहस, विवाद र सङ्घर्षबाट नै कम्युनिष्ट आन्दोलनको विकास हुँदै आएकाले वामपन्थी एकता सम्भव हुने बताउनु भएको छ ।
प्रगतिशील लेखक सङ्घको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै विगतमा एमालेसँग पार्टी एकता गरेर बनाएको नेकपाको एकता जोगाउन नसकेको स्मरण गर्दै अझै पनि वामपन्थी एकताको सम्भावना रहेको बताउनु भएको हो ।
उहाँले भन्नु भयो- ‘हामीले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता गरेको थियौँ । दुई तिहाइको नजिक पार्टी पुग्दा पनि हामीले सरकारबाट सबैले प्रशंसा गर्ने, इतिहासमा नाम रहने काम गर्न पनि सकेनौँ । र, पार्टीको एकतालाई बचाउन पनि सकेनौँ । हामीले त्यसबाट शिक्षा लिनुको विकल्प छैन । हामीले वामपन्थी एकता र कम्युनिष्ट एकताको लागि प्रयास निरन्तर राख्छौँ ।’
उहाँले वामपन्थीहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताउँदै अहिले पनि वामपन्थीहरूको दुई तिहाइ बहुमत रहेको सुनाउनु भयो ।