ललितपुर । ललितपुर महानगरपालिकाले २०८१ बैशाख १६ गतेदेखि सबै विद्यालय खोल्न पत्राचार गरेको छ। महानगरपालिकाले बैशाख १५ गते परिपत्र गरी आफ्नो क्षेत्रभित्रका सबै विद्यालय खोली पठनपाठनको व्यवस्था गर्न भनेको हो।
‘प्रस्तुत विषयमा यस महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ ।’-पत्रमा लेखिएको छ, ‘उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।’

विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू, नगराउनू भनी भएको आदेशबमोजिम यस महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरू बैशाख १६ गतेबाट नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न र गराउन महानगरपालिकाले भनेको छ ।