मधु पन्थी, पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा जारी कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमालले २०८२ जेठ २० गते भक्तजनलाई छमछमी नचाउनु भएको छ ।
हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिनु भएको थियो । पाण्डेको गीतमा महानायक हमालसँगै कोटिहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजजी र भक्तजन पनि नाचेका थिए ।
कोटीहोममा महानायक राजेश हमालको सहभागिताले आफूहरु निकै उत्साहित भएको महाराजजीले बताउनु भयो । कोटीहोममा महानायक हमालले पवित्र मेलामा उपस्थिति जनाउने मौका दिएकोमा आयोजकप्रति आभार व्यक्त गर्नु भयो ।
कोटिहोम दर्शन गर्दै गर्दा उपस्थित भक्तजन उत्साहित भएको पाएको भन्दै उहाँले सत्मार्गतर्फ लाग्न सके जीवनले सार्थकता पाउने स्पष्ट पार्नु भयो ।
कोटीहोम साच्चिकै ऐतिहासिक रहेको भन्दै महानायक हमालले जीवनलाई आनन्दित बनाउन यस्ता खालका कोटिहोम आवश्यक रहेको बताउनु भयो ।
कोटीहोममा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिएका छन् । २०८२ जेठ २० गते पटकपटकको वर्षा तथा सार्वजनिक यातायात बन्द हुँदासमेत २ लाख ५० हजार भन्दा बढी भक्तजन कोटीहोममा सहभागी भएको आयोजकले दावी गरेको छ ।
कोटीहोममा हालसम्म २० लाख भन्दा बढी भक्तजनहरू सहभागी भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिनु भयो ।