निशान्त ढुङ्गाना, विराटनगर ।
विराटनगर । मोरङ जिल्ला (आइटिएफ) तेक्वान्दो सङ्घको आयोजना तथा कोशी प्रदेश (आइटिएफ) तेक्वान्दो सङ्घको सह-आयोजनामा कोशी प्रदेश स्तरीय (आइटिएफ) तेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न भएको छ।
आज २०८२ बैशाख १३ गते विराटनगरस्थित शहीद रङ्गशालाको कभर्ड-हलमा कोशी प्रदेशका सात जिल्लाका तेक्वान्दो खेलाडीहरुको सहभागितामा एक दिने आत्मरक्षा तालिम सम्पन्न भएको हो । तालिम सम्पन्न समारोहमा बोल्दै मोरङ जिल्ला खेलकुद समितिका अध्यक्ष सुरजबहादुर श्रेष्ठले तालिमले खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने तथा थप अनुशासित बनाउन मदत गर्ने बताउनु भयो ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका अध्यक्ष प्रविणकुमार कार्कीले आत्मरक्षा तालिमको महत्वमा प्रकाश पार्दै तालिमले खेलाडीहरुलाई जिम्मेवार र समाजप्रति उत्तरदायी बन्न सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभएको थियो ।
त्यस्तै, विराटनगर महानगरपालिका वडा नं ८ का वडाध्यक्ष राम पोखरेलले तालिम अनुकरणीय रहेको बताउँदै भविष्यमा गैर-खेलाडीलाई समेत समावेश गरेर तालिम संचालन गर्न शुभकामना व्यक्त गर्नु भएको थियो ।
तालिममा कोशी प्रदेशका सात जिल्लाका २५ महिला र ८२ पुरुष गरेर १ सय ७ जना खेलाडीको सहभागिता रहेको तेक्वान्दो सङ्घ कोशीका कोषाध्यक्ष ओमकुमार श्रेष्ठले जानकारी दिनुभयो । तालिममा प्रशिक्षकद्वय नविन तामाङ्ग र राजेन्द्र धिमालले प्रशिक्षण दिनुभएको थियो ।