जनचासो

२०८२ जेष्ठ १२ गते
00: 00: 00
२०८२ जेष्ठ १२ गते

यस वर्षको विपतबाट २० लाख नागरिक प्रभावित हुने अनुमान

ललितपुर । यस वर्षको प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।

मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ मा उक्त अनुमान गरिएको हो ।

प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभएको राससले जनाएको छ ।

यही जेठ १४ गते बस्ने गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उक्त राष्ट्रिय कार्ययोजना पेस हुने जनाउँदै प्रवक्ता केसीले सोही बैठकबाट पारित भएपछि कार्यान्वयनमा जाने उल्लेख गर्नु भयो ।

उहाँका अनुसार केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म कार्य जिम्मेवारी तोकिएको छ । यसपालि प्रस्तावित कार्ययोजनामा हरेक एकएक महिनामा विपद्को अवस्थाका विषयमा अनुगमन, मूल्याङ्कन तथा समीक्षासमेत गर्ने योजना अघि सारिएको केसीले बतउनु भयो ।

यसअघि नै नेपालमा मनसुनी आँकलन सार्वजनिक भइसकेको छ । मौसम विज्ञान विभागले सार्वजनिक गरेको आँकलनमा वर्षा र अधिकतम तापक्रम पनि बढी हुने जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभाग वर्षाबाट बढी प्रभावित हुनसक्ने उल्लेख गरेको छ ।

यही जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहनुका साथै अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिनु भएको छ ।

Related News