रुद्रबहादुर खड्का, ललितपुर ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कार्यान्वयनका लागि आयोगले सरकारलाई गरेका सिफारिसहरु कार्यान्वयन न्युन मात्रामा भएको बताउनु भएको छ ।
आयोगको २५ औँ वार्षिकोत्सव समारोहमा २०८२ जेठ १३ गते ललितपुरमा आयोजित कार्यक्रममा उहाँले कारबाहीका लागि गरिएका सिफारिस धेरैजसो कार्यान्वयन नभएका बताउनु भएको हो ।
उहाँले आयोगबाट गरिएका सिफारिस कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाउनसक्ने विचार व्यक्त गर्नु भयो ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग मानव अधिकार अन्योन्याश्रित सम्बन्ध रहेको र विचार तथा अभिव्यक्तिको स्वतन्त्रतालाई शान्तिपूर्ण तरिकाले प्रस्तुत गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
अध्यक्ष मगरले सशस्त्र द्वन्द्वका बेला भएका मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरुको न्याय र परिपूरण सबैको सरोकार, चिन्ता र जिम्मेवारीको विषय भएकाले राज्यका निकायहरुले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनु भयो ।
चालु आर्थिक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी ५८ वटा उजुरी दर्ता भएका छन् । आयोग २०५७ जेठ १३ गते स्थापना भएको स्मरणमा प्रत्येक यसै दिन स्थापना दिवस मनाउने गरिएको छ ।
आयोगले ‘जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दिगो शान्ति र समृद्धिको आधार’ नाराका साथ २५ औँ वार्षिकोत्सव मनाएको छ ।
सो अवसरमा आयोगले सर्वोत्कृष्ट मानव अधिकार सेवा पुरस्कार पवनकुमार भट्ट, उत्कृष्ट मानव अधिकार सेवा पुरस्कार मानव अधिकार अधिकृत खिमानन्द बस्याल र मानव अधिकार अधिकृत मन्दिरा श्रेष्ठ तथा मानव अधिकार सेवा पुरस्कार सुरक्षा गार्ड खगेन्द्र थापामगर लाई प्रदान गरेको थियो ।