रुद्रबहादुर खड्का, सिन्धुली ।
तीनपाटन गाउँपालिकाको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाको सहकार्य र स्वाधीन खबरपत्रिकाको समन्वयमा २०८२ जेठ २० गते स्थानीय तह र मानवअधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम तीनपाटन गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
यो प्रशिक्षण कार्यक्रममार्फत स्थानीय तहमा नेपालको संविधान २०७२ ले राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानुन बमोजिम कार्य गर्ने उल्लेख गरेको छ ।
यसले स्थानीय तहमा मानवअधिकार र विकास, वातावरण, सुशासन र स्थानीय तहमा नागरिकको हक अधिकार र सम्बन्धलाई सहयोगी र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।
यस कार्यक्रममा गाउँपालिकाका ६५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा जन प्रतिनिधिहरु, नागरिक समाज र कर्मचारीहरुलाई मानव अधिकार सम्बन्धि प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमममा तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले मानवअधिकार आफैँमा गहकिलो विषय रहेको बताउनु भएको थियो ।
उहाँले सबै समुदायका बिचमा मानवअधिकार संरक्षणका लागि एकता भएमा यस गाउँपालिकालाई उत्कृष्ट स्थानीय तह बनाउन सक्ने धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा तीनपाटन गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक धनबहादुर पुलामीले जिम्मेवारीको हिसावले मानिस सानो ठूलो भएपनि मानवअधिकार सबैका लागि बराबर हुने भनाई राख्नु भएको थियो ।
उहाँले ऐन कानुन मानवअधिकार सन्धि महासन्धिको अक्षरस पालना भएमा मात्रै नागरिकको अधिकारको संरक्षण भई मुलुकमा दिगो विकासका लक्ष्यको कार्यान्वयन सहित सुशासनमा टेवा पुग्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाका प्रमुख एवम् उपसचिव पवनकुमार भट्ट र मानव अधिकार अधिकृत रविना घिमिरेलगायतले प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षणमा नेपाल सरकारको मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना र स्थानीय सरकार, महिला अधिकार र लैङ्गिक विभेद, सङ्क्रमणकालिन न्याय र मानव अधिकार, मेलमिलाप, न्यायिक समिति र मानव अधिकारको अवस्था जस्ता विषय समेटिएको थियो ।