रुद्रबहादुर खड्का, सिन्धुली ।
दुधौली नगरपालिकाको आयोजना, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाको सहकार्य र स्वाधीन खबरपत्रिकाको समन्वयमा “स्थानीय तह र मानव अधिकार” विषयक एकदिने प्रशिक्षण २०८२ जेठ २१ गते सम्पन्न भएको छ।
प्रशिक्षणमा नगरका जनप्रतिनिधि, न्यायिक समिति सदस्य, मेलमिलाप संयोजक, सुरक्षा निकाय, नागरिक समाजका प्रतिनिधि तथा कर्मचारीसहित ८५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा मानव अधिकार, सुशासन, योजना तर्जुमा, बजेट निर्माणमा समावेशिता, स्थानीय तहको संवैधानिक भूमिका लगायत विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यबाहक मेयर चन्द्रकिशोर थारुले मानव अधिकारको कार्यान्वयन सबै नागरिकबाट सुरु हुनुपर्ने बताउनु भयो । नगरपालिकाका प्रवक्ता दीपक खडकाले प्रशिक्षणले स्थानीय तहलाई मानव अधिकारमुखी बनाउन सहयोग गर्ने बताउनु भयो ।
प्रशिक्षकको रूपमा आयोगका उपसचिव पवनकुमार भट्ट र अधिकृत रविना घिमिरेले मानव अधिकारका अवधारणा, न्यायिक समिति, मेलमिलाप प्रक्रिया, संक्रमणकालीन न्याय लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले दुधौली नगरपालिका मानव अधिकारको संरक्षण र प्रवर्धनमा प्रतिबद्ध रहेको र आगामी योजनामा यसको समावेशी दृष्टिकोणलाई प्राथमिकता दिइने बताउनु भयो ।
प्रशिक्षणको उद्देश्य मानव अधिकारमैत्री बजेट, लैङ्गिक र सामाजिक समावेशिता, र मानव अधिकार कार्ययोजना कार्यान्वयनमा स्थानीय तहलाई सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ।