आयोजक गोदावरी नगरपालिका उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा गोलकिपर विवेक शिलवाल चम्किएपछि गोदावरीले दक्षिणकाली नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित ग¥यो । पेनाल्टीमा विवेकले दुई प्रहार बचाउनु भयो । निर्धारित समयमा दुवै टोलीबाट २–२ गोल भएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो ।
पेनाल्टीमा गोदावरीका लागि पासाङ लामा, सुरज चित्रकार, सागर तामाङ र अरुण लामाले गोल गर्नु भएको थियो । आशिष शाहीको प्रहारलाई भने दक्षिणकालीका गोलकिपर हरिशंकर तामाङले बचाउनु भयो । यता, दक्षिणकालीका लागि बिकी महर्जन, रिजन श्रेष्ठ र रोजन लामाले गोल गर्नु भयो । कप्तान नवीन लामा र अनिल बलामीको प्रहार भने विवेकले रोक्नु भयो ।
त्यसअघि खेलको १५औं मिनेटमा अमित तामाङको गोलमार्फत दक्षिणकालीले अग्रता लिएको थियो । ५०औं मिनेटमा पासाङ लामाले गोदावरीलाई बराबरीमा ल्याउनु भयो । नवीनले ८२औं मिनेटमा गोल गर्दा दक्षिणकाली २–१ ले अगाडि बढ्यो । तर, इन्जुरी समयमा गोदावरीका अनिल बम्जन लामाले गोल गरेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।
गोदावरी समूह ‘ए’ तथा कीर्तिपुर समूह ‘सी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका थिए । समूह चरणमा महालक्ष्मी नगरपालिकालाई ६–१ ले तथा बाग्मती गाउँपालिकालाई ७–० ले हराएको गोदावरीले ललितपुर महानगरपालिकासँग १–१ को बराबरी खेलेको थियो । दक्षिणकालीले कागेश्वरी मनोहरा नगरपालिकालाई ५–० तथा चन्द्रागिरी नगरपालिकालाई २–१ ले पराजित गरेको थियो ।
अब, गोदावरीले उपाधिका लागि काठमाडौं महनगरपालिकाको सामना गर्नेछ । साबिक विजेता काठमाडौंले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा कीर्तिपुर नगरपालिकाविरुद्ध ३–० को जित निकालेको थियो ।