ललितपुर । पेसागत महासङ्घ नेपालले आफ्नो ३१ औं स्थापना दिवस २०८२ जेठ ६ गते भव्य रूपमा मनाएको छ। काठमाडौंको लैनचौरस्थित पेसागत भवनमा आयोजित विशेष समारोहमा पूर्व मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य हरिप्रसाद पराजुलीलगायत श्रमिक अधिकारकर्मी, कानुनविद् र विभिन्न ट्रेड युनियन नेताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि पराजुलीले प्रविधिको युगमा श्रमिक संख्या घट्दो क्रममा रहेकाले उनीहरूको अधिकार संरक्षण चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो। महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालले ट्रेड युनियनको सञ्चालनमा देखिएका समस्या र समाधानका उपायबारे आधारपत्र प्रस्तुत गर्नुभयो।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरू—जसमा पूर्व न्यायाधीश पवनकुमार ओझा, सल्लाहकार विश्वनाथ प्याकुरेल, संस्थापक संयोजक सीताराम नेपाल, पूर्व अध्यक्ष प्रमोद शर्मा लगायतले—ट्रेड युनियन आन्दोलनलाई एकीकृत गरेर श्रमिकका साझा मुद्दा उठाउन जोड दिए। विभिन्न महासंघहरूबाट आएका नेताहरूले ट्रेड युनियनबीचको आपसी प्रतिस्पर्धाले आन्दोलन कमजोर बनाएको भन्दै एकताको आवश्यकता औँल्याए।
कार्यक्रमको अन्त्यमा सम्पन्न अन्तरक्रियाबाट १४ बुँदे निष्कर्ष सार्वजनिक गरिएको छ। ती निष्कर्षहरूमा श्रमिकलाई मनपर्ने युनियन रोज्न पाउने अधिकार सुनिश्चित गर्ने, नियमित रूपमा प्रतिनिधित्वयुक्त निर्वाचन गराउने, युनियन दर्ता र मान्यता प्रणाली सुधार गर्ने, सरुवा प्रणाली पारदर्शी बनाउने, युनियन सदस्यलाई राजनीति गर्न दिने, र साझा संयन्त्र निर्माण गरेर श्रमिक आन्दोलनलाई सुदृढ बनाउने सुझावहरू समावेश छन्।
यसै सन्दर्भमा, राष्ट्रिय श्रम आयोग गठन र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को अभिसन्धि नं. ८७ अनुमोदनका लागि पहल गर्नुपर्नेमा समेत जोड दिइएको छ।