ललितपुर । जलवायु परिवर्तनको असर तीव्र रूपमा महसुस भइरहेको पर्वतीय क्षेत्रका सरोकारवालाहरूले अनुकूलनका उपायहरू प्रभावकारी बनाउन डिजिटल साक्षरतामा जोड दिएका छन्।
सगरमाथा संवादको दोस्रो दिन २०८२ जेठ ३ गते ‘पर्वतीय क्षेत्रमा अनुकूलनका लागि विज्ञान र प्रविधिको संयोजन’ शीर्षकमा आयोजित समानान्तर सत्रमा विभिन्न देशका वैज्ञानिक, प्राविधिक तथा नीति निर्माताहरूले जलवायु–संवेदनशील क्षेत्रमा प्रविधिको प्रयोग र पहुँचमा देखिएको असमानतालाई न्यून गर्नुपर्नेमा जोड दिएका हुन् ।
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलका महासचिव अब्दालाह मोक्स्सितले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरू जलवायु परिवर्तनको मुख्य मारमा परेको बताउँदै अनुकुलनका उपायहरू समयमा नअपनाए गम्भिर जोखिम निम्तन सक्ने चेतावनी दिनु भयो ।
प्रविधिको प्रभावकारी उपयोगबाट जलवायुजन्य विपद्बाट धनजनको क्षति कम गर्न सकिनेमा उहाँको जोड छ ।
भारतको ‘द एनर्जी एन्ड रिसोर्सेस इन्स्टिच्युट’की महानिर्देशक विभा धवनले कृषिमा रासायनिक मलको अत्यधिक प्रयोगले हरितगृह ग्यास उत्सर्जन र पानीको स्रोतमा प्रदूषण बढाएको उल्लेख गर्दै जैविक मल प्रयोगमा जोड दिन आग्रह गर्नु भयो ।
जलवायुविद् डा. माधव कार्कीले परम्परागत स्थानीय ज्ञान र अभ्यासलाई प्रविधिसँग संयोजन गर्दै जलवायु अनुकूल कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
“विशेष गरी पहाडी तथा दुर्गम क्षेत्रमा डिजिटल साक्षरता अभावले अनुकुलन उपायहरू कार्यान्वयनमा अवरोध गरिरहेको छ ।”-उहाँले भन्नु भयो- “स्मार्ट उपकरण, इन्टरनेट पहुँच र डिजिटल शिक्षा विस्तार गरेर मात्रै जोखिम व्यवस्थापन सम्भव छ।”
नेदरल्याण्ड्सको ग्रोनिङ्गेन विश्वविद्यालयका प्रा.डा. क्लाउस हुबासेकले प्रविधिको विकास स्थानीय सहभागितासँग जोड्न सके जलवायु अनुकूलन प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।
संयुक्त राष्ट्र विश्वविद्यालय जर्मनीका डा. स्टेफान श्नाइडरबाउअरले जलवायु परिवर्तनको प्रभाव भोगिरहेका समुदायहरूलाई अनुसन्धानबाट प्राप्त तथ्याङ्क र समाधानका उपायहरू निःशुल्क उपलब्ध गराउनुपर्नेमा जोड दिनु भयो ।
वक्ताहरूले हिमनदी पग्लनु, अनियमित वर्षा, तापक्रम वृद्धिलगायतका असरले पर्वतीय क्षेत्रका खाद्य सुरक्षा, जीविकोपार्जन, स्वास्थ्य र सांस्कृतिक सम्पदा गम्भीर संकटमा परेको उल्लेख गर्दै डिजिटल साक्षरता विस्तारलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेका थिए।