जनचासो

२०८२ जेष्ठ १८ गते
00: 00: 00
२०८२ जेष्ठ १८ गते

गणतन्त्रपछि बढ्यो विकास

ललितपुर । गणतन्त्र आएपछि नागरिकले विकास निर्माणमा सहजता, सेवामा पहुँच, समावेशी स्थानीय सरकार र गाउँघरमै न्यायिक अधिकार प्राप्त गरेका छन् ।

गणतन्त्रको घोषणापछि स्थानीय तहका नागरिकले घरदैलोमै सरकार भएको महसुस गर्नुका साथै नीति निर्माण, राज्यको स्रोत र साधनको प्रत्यक्ष रूपमा अनुभूति गरिरहेका छन् ।

२०६४ सालमा संविधान सभा निर्वाचनबाट बनेको संविधान सभाले २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा गरी २०७२ असोजमा संविधान जारी गरेको थियो ।

२०७४ साल र २०७९ सालमा दुई पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आएसँगै स्थानीय नागरिकले राज्यको सेवामा प्रत्यक्ष पहुँचको अनुभूति गरेका हुन् ।

गणतन्त्र अगाडि गाउँघरका गोरेटो बाटो अहिले मोटर गुड्ने ग्राभेल र पक्की बन्दै गएका छन् । प्रत्येक टोल र घरघरमा खानेपानी पुगेको छ ।

स्थानीयस्तरमा नै पाँचदेखि १५ बेडको अस्पताल निर्माण भइरहेका छन् भने स्थानीय जनप्रतिनिधिको सहजीकरणमा घर घरमा पुगेर स्वास्थ्य बिमा कार्यक्रम अभियानका रूपमा सञ्चालन भएको छ ।

यसैगरी स्थानीय तहमा उत्पादित वस्तुलाई स्थानीय तहमा नै साना उद्योग स्थापना गरी पालिकाको उत्पादन पालिकामा नै खपत गराई रोजगारी सिर्जना भएका छन् ।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखमा निर्वाचित चिरीबाबु महर्जनले गणतन्त्रले स्थानीय नागरिकलाई दिलाएको उपलब्धि अपेक्षा गरिएभन्दा धेरै भएको बताउनु भयो ।

गणतन्त्रको उपहार संविधान र संविधान अन्तर्गत तिनै तहमा सरकार आएपछि अहिले गाउँ क्रमिक रूपमा सहर बन्दै गएको र सहरमा व्यवस्थित सहरीकरण हुने क्रम तीव्र भएको बताउनु भयो ।

उहाँका अनुसार ललितपुर महानगरपालिकामा अहिले सहरी सौन्दर्य, मूर्त र अमूर्त सम्पदाको सौन्दर्यीकरण गरी पुरातात्त्विक सम्पदाको पुरातात्त्विक शैलीमा नै जीर्णोद्वार भएका छन् ।

सूचना र प्रविधिमैत्री सेवाले कतिपय कामका लागि सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुँदै गएको छ ।

अहिले भएका विकास र प्रविधिमैत्री सेवालगायतका सबै काम गणतन्त्रकै उपहार हुन्, स्थानीय सरकारले हासिल गरेका उपलब्धिको सूची गणतन्त्रकै सौन्दर्य हुन् ।

Related News