ललितपुर । नेकपा एकीकृत समाजवादी (नेकपा एस) रोजगारीको सुशासनलगायतका माग राखि आन्दोलनमा उत्रने भएको छ ।
नेकपा एसको ललितपुर जिल्ला कमिटीको २०८२ जेठ ९ गते सम्पन्न चौथो पूर्ण बैठकले सो निर्णय गरेको हो ।
पार्टी अध्यक्ष हरिकृष्ण थापाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी महासचिव घनश्याम भुसालले वर्तमान सरकारको असक्षमता र राज्यको निरीहताप्रति गम्भीर टिप्पणी गर्दै ‘सुशासन र रोजगारीः समाजवादीको तयारी’ भन्ने मूल नाराको साथ पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको बताउनु भएको छ ।
भुसालले गणतान्त्रिक व्यवस्थामा पनि जनतालाई रोजगारी र सुशासन दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
उहाँले राज्यले बेरोजगारीको समस्या समाधान गर्न नसकेको र अनियमितता, भ्रष्टाचार बढेर जनताको आक्रोश चुलिएको बताउनु भयो ।
“राज्यको नालायकीपनकै कारण राजावादी र पुनरुत्थानवादी शक्तिहरू सडकमा अराजक ढंगबाट प्रस्तुत भइरहेका छन् ।”-उहाँले भन्नु भयो ।
भुसालले प्रत्येक कार्यकर्ताले आफू जस्तै अर्को कार्यकर्ता उत्पादन गरेर मात्र पार्टी निर्माण र विस्तार सम्भव हुने धारणा राख्नु भएको छ । उहाँले कार्यकर्तालाई सङ्गठन सुदृढ गर्न आह्वानसमेत गर्नु भएको छ ।
बैठकमा पार्टी पोलिटब्युरो सदस्य प्रेमलकुमार खनाल, जिल्ला इन्चार्ज कृष्णलाल महर्जन, सह–इन्चार्ज राधा सिलवाल, केन्द्रीय सदस्यहरू उषा बज्राचार्य, एस. के. सी., सुनिता थापा, अनुशासन आयोग सदस्य रामकुमार वान्तवासहित विभिन्न तहका नेताहरूको सहभागिता रहेको थियो।
सङ्गठित आन्दोलनको तयारी
बैठकमा आगामी सङ्घर्षका कार्यक्रमहरूको घोषणा गरिएको छ । अध्यक्ष थापाले जेठ ११ गतेदेखि सुरु हुने दोस्रो चरणको आन्दोलनका कार्यक्रम प्रस्तुत गर्नु भयो ।
उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको सो पार्टीले जनाएको छ । सङ्घर्षका कार्यक्रमहरूमा स्थानीय तहहरूमा मागपत्र पेश गर्ने, वडास्तरीय ध्यानाकर्षण, विचार गोष्ठी, प्लेकार्डसहितको धर्ना, पर्चा वितरण, कोणसभा, जातीय भेदभाव विरुद्ध गोष्ठी र पत्रकार सम्मेलन समावेश छन्।

मुख्य सङ्घर्ष कार्यक्रमहरू:
- जेठ ११ – महालक्ष्मी नगरपालिकामा मागपत्र
- जेठ १३ – गोदावरी नगरपालिकामा मागपत्र
- जेठ १६ – जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरमा स्मरणपत्र
- जेठ २० – महांकाल गाउँपालिकामा ध्यानाकर्षण
- जेठ १०–२३ – सबै वडामा वडास्तरीय समस्यासम्बन्धी ध्यानाकर्षण
- जेठ २२ – विभिन्न राजनीतिक दल र बुद्धिजीवीसँग विचार गोष्ठी
- जेठ २३ – ललितपुर नगरपालिकामा २ घण्टा धर्ना
- जेठ २५, २७, २८ – लगनखेल, लुभु, प्याङ्गाउँमा पर्चा वितरण र कोण सभा
- जेठ ३० – जातीय भेदभावविरुद्ध राष्ट्रिय गोष्ठी
- असार ६ – पत्रकार सम्मेलन