जनचासो

२०८२ जेष्ठ ८ गते
00: 00: 00
२०८२ जेष्ठ ८ गते

संस्कृति जोगाउन भन्दै प्युटारमा ताम्बा संस्कार तालिम सुरू

ललितपुर । बागमती गाउँपालिकाको आयोजनामा ताम्बा (म्रावाइसिङ्गे) प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।

बागमती गाउँपालिका वडा नं ४ प्युटारमा २०८२ जेठ १ गतेदेखि तीन दिनसम्म सञ्चालन गरिने कार्यक्रममा बागमती गाउँपालिकाका सात ओटै वडाहरुको ताम्बाहरुलाई एकै ठाउँमा भेला गरिएको छ ।

बागमती गाउँ पालिकामा रहेको तामाङ समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यसहित ताम्बा संस्कार तालिम सञ्चालन गरेको आयोजकले जनाएको छ ।

नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्य अनुरुप सञ्चालन भएको तामाङ समुदायमा ताम्वा संस्कार तालिमको उदघाटन कार्यक्रममा बागमती गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष रामकुमार लामाले तामाङ भाषा र संस्कृतिको पहिचान जोगाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो।

कार्यक्रमको दोस्रो दिन गाउँपालिकाका सातै वडाबाट तीन–तीन जना ताम्बाहरूको सहभागितामा बन्द सत्र सञ्चालन गरिने जनाइएको छ ।

सो अवसरमा सहभागी ताम्बाहरुलाई तामाङ समुदायको मौलिक बाजा डम्फु वितरण गरिने छ । बन्द सत्रमा संस्कृति संरक्षण, भाषाको प्रवर्धन तथा ताम्बा परम्पराको निरन्तरताबारे गहन छलफल हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले ताम्बाहरूबिचको घमण्ड र एकरूपताको कमीका कारण तामाङ समुदाय पछाडि परेको उल्लेख गर्दै उहाँले समुदायको एकता र संस्कृतिको संरक्षणका लागि बागमती गाउँपालिकाले यस किसिमको कार्यक्रमको आवश्यकता महसुस गरेको बताउनु भयो ।

यस कार्यक्रममार्फत ताम्बा संस्कार र ज्ञानको आदान–प्रदानले समुदायमा नयाँ ऊर्जा र तामाङ समुदायको भाषा संस्कृति संरक्षणमा टेवा पुग्ने उहाँको विश्वास छ ।

कार्यक्रममा तामाङ सङ्घका पुर्व केन्द्रीय अध्यक्ष तथा तामाङ घेदुङको सल्लाहकार कवेलबहादुर लामाले तामाङ मात्र नभई खस आर्य समुदायको पनि मौलिक संस्कृति हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नु भयो । उहाँले सम्पूर्ण जातजातिको मौलिक संस्कृति जोगाउन सबै नेपालीको साझा जिम्मेवारी भएको कुरामा जोड दिनु भयो।

Share the News

Recent News

Related News