जनचासो

२०८२ जेष्ठ ११ गते
00: 00: 00
२०८२ जेष्ठ ११ गते

राजिनामा दिएर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई सुझाव

विराटनगर । राजीनामा दिएर छानबिनमा सहयोग गर्न गृहमन्त्री रमेश लेखकलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुझाव दिनुभएको छ ।

विराटनगर विमानस्थलमा २०८२ जेठ १० गते सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताउनुभएको हो ।

विगतमा पनि केही मन्त्रीहरूले प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाएको भन्दै नेता कोइरालाले मन्त्री लेखकले राजीनामा दिँदा उहाँकै नैतिकतामा सघाउ पुग्ने बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेपछि गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न उठेको छ ।

गृहमन्त्री लेखकले नै रकम उठाउन सहसचिव तीर्थ भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख बनाएर खटाएको आरोप लागेको छ ।

यसैबिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसामा अवैध रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको गृहमन्त्रालयले स्पष्टीकरण दिएको छ ।

भिजिट भिसासम्बन्धी प्रकरणलाई लिएर गृहमन्त्रालयले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत मन्त्रालयको संलग्नता रहेको भनी आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उक्त समाचारहरू तथ्यहीन, भ्रमपूर्ण र आधारहीन भएको उल्लेख गरेको छ । गृहमन्त्री लेखकले पनि सो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्नु भएको छ ।

मन्त्रालयले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित घटनाको अनुसन्धान गम्भीर रूपमा भइरहेको जनाएको छ । उसले सत्यतथ्य बाहिर आउने क्रम जारी रहेको पनि जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानमा मन्त्रालयको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाएको छ ।

Related News