जनचासो

२०८२ जेष्ठ ९ गते
00: 00: 00
२०८२ जेष्ठ ९ गते

द्वन्द्वपीडितको निरन्तर खबरदारी !

ललितपुर । सङ्क्रमणकालीन न्यायका आयोगमा अध्यक्ष एवम् सदस्य छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै द्वन्द्व पीडित समुदायले २०८२ बैशाख २७ गते शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

दुई आयोगका लागि एकएक जना अध्यक्ष र चारचार जना सदस्य छनोट प्रक्रिया खारेज गर्दै तत्काल पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले आम द्वन्द्वपीडित समुदायलाई पूर्णत उपेक्षा गरी अपारदर्शी, देखावटी र भागबन्डाका आधारमा  छनोट प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

आज गरिएको प्रदर्शनमा सिफारिस समिति खबरदार, जबरजस्ती गरे बहिष्कार, नयाँ सिफारिस प्रक्रिया थालियोस्, भागबन्डाको समिति मान्दैनौ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले सरकार र दल नियन्त्रित प्रकृयाबाट बनाइने आयोग नमान्ने जनाएका छन् ।

साथै द्वन्द्वपीडित समुदायले आफूहरूको माग सम्बोधन नभए पीडितहरूको अगुवाइमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी समेत दिएका छन् ।

सरकारले २०८१ चैत ११ गते सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो ।

यसअघि काम पूरा गर्न असमर्थ रहेको समितिलाई पुनः जिम्मेवारी दिँदै २ महिनाको समयसीमा तोकिएको छ । सिफारिस समितिले जसरी पनि तोकिएको समयमा नाम सिफारिस गर्ने जनाउँदै आएको छ भने द्वन्द्वपीडित र मानव अधिकार समुदायले अहिलेको प्रक्रियालाई अस्वीकार गर्ने बताइसकेका छन् । दुवै पक्ष आआफ्नो अडानमा रहँदा समस्या झन् बढ्ने देखिन्छ ।

Share the News

Recent News

Related News