मधु पन्थी, पोखरा ।
साथी, काठमाडौँ र इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा “सारभूत समानता तथा सामाजिक समावेशीकरणको लागि लैङ्गिक मूलप्रवाहिकरण प्रादेशिक बार्षिक नीति तथा कार्यक्रमहरूमा सिड निष्कर्ष सुझावहरूको आन्तरिकिकरण” उच्चस्तरीय परामर्श बैठक २०८२ जेठ १४ गते पोखरामा सम्पन्न भएको छ ।
प्रादेशिक योजनामा सिड कमिटीका सुझावहरूको आन्तरिकीकरण परामर्शमा लैङ्गिक समानता, महिलाविरुद्ध हुने हिंसा र सेवा कार्यक्रम, महिला सहभागिता, नागरिकता, रोजगारी, शिक्षा र स्वास्थ्य र जलवायु परिवर्तनको प्रभावका बारेमा छलफल गरिएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा साथी संस्थाकी पूर्व अध्यक्ष तथा सिड कमिटीकी विज्ञ बन्दना राणाले महिला बिरूद्ध हुने सबै प्रकारका विभेद उन्मुलन महासन्धि (सिड) ले नेपालको सातौँ आवधिक प्रतिवेदन उपर हालै उपलब्ध गराएको निष्कर्ष सुझाव र यसको कार्यान्वयनको लागि प्रदेश सरकारको दायित्व तथा भूमिकाका बारेमा सहजीकरण गर्नु भएको थियो ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उप-सचिव तथा सामाजिक विकास महाशाखाकी प्रमुख मुना अधिकारीले लैङ्गिक समानता प्रवर्धनका लागि गण्डकी सरकारको प्राथमिकता, उपलब्धि तथा चुनौतीका बिषयमा सहजीकरण गर्नु भएको थियो ।
उप-सचिव अधिकारी गण्डकी प्रदेश सरकारले लैङ्गिक हिंसामा परेका पीडितलाई राख्नका लागि गण्डकी प्रदेशस्तरीय पुनःस्थापन केन्द्र सञ्चालन कार्यविधि २०८२ जेठ १३ को बैठकबाट पारित भइ जेठ १६ गतेदेखि प्रदेशस्तरीय पुनःस्थापन केन्द्रको सुरुवातसँगै उदघाट्न हुने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभाका सदस्यहरू कुशुम बुढा, सरस्वती अर्याल तिवारी, सरस्वती गुरूङ, नन्दकला नेपाली, सुनिता थापा, सीता सुन्दास, गण्डकी प्रदेशका प्रेस रजिस्टार बिमला भण्डारी, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय,पोखराका कार्यालय प्रमुख नितु गर्तौला लगायतले बोल्नु भएको थियो ।
महिला अधिकारकर्मी विना सिल्वालको अध्यक्षतामा र इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलको सञ्चालनमा कार्यक्रम चलाइएको थियो ।