जनचासो

२०८२ जेष्ठ १० गते
00: 00: 00
२०८२ जेष्ठ १० गते

सङ्क्रमणकालीन आयोगको असंवेदनशिलताप्रति द्वन्द्वपीडितको आपत्ति

ललितपुर । सङ्क्रमणकालीन न्याय तथा लैङ्गिक न्याय  सञ्जालले हालै सत्य निरुपण तथा मेलमिलाप आयोगले जारी गरेको उजुरी दर्ता सम्बन्धी सूचनाप्रति घोर आपत्ति जनाएको छ ।

सङ्गठनकी अध्यक्ष गीता रसाईलीद्वारा जारी विज्ञप्तिमा आयोगले न्यूनतम संवेदनशीलता र पीडितहरुको सुरक्षासम्बन्धी मापदण्डहरू समेत बेवास्ता गरेको आरोप लगाइएको छ।

रसाईलीका अनुसार आयोगले बलात्कार तथा यौनजन्य हिंसाका पीडितहरूप्रति गम्भीर असंवेदनशीलता प्रदर्शन गरेको छ ।

“द्वन्द्वकालमा भएका गम्भीर यौनजन्य हिंसाका घटनामा पीडितहरूसँग कुनै परामर्श नगरी, सुरक्षाको प्रत्याभूति नदिई उजुरी दर्ता गर्न आह्वान गर्नुले पीडितहरुलाई पुनः पीडित बनाएको छ ।”-विज्ञप्तिमा भनिएको छ ।

सञ्जालले सत्य आयोग र बेपत्ता छानबिन आयोगमा नियुक्ति प्रक्रिया पीडितसँगको कुनै अर्थपूर्ण परामर्श विना, राजनीतिक भागबण्डाका आधारमा गरिएको भन्दै आलोचना गर्दै आएको छ । उनीहरूले पीडितहरूको आवाज र मर्मलाई बेवास्ता गरेर गरिएको नियुक्ति अस्वीकार्य भएको बताएका छन् ।

सञ्जालले आयोगको हालको प्रक्रिया र दृष्टिकोणले १८ वर्षदेखि न्यायको पर्खाइमा रहेका पीडितहरूको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै, यस्ता असंवेदनशील र निष्प्रभावी प्रक्रियामा आफूहरू सहभागी नहुने पुनः स्पष्ट पारेका छन् ।

सञ्जालले आयोगलाई पीडितमैत्री, पारदर्शी, निष्पक्ष र उत्तरदायी बनाउने दिशामा अघि बढ्न कडा आग्रह गर्दै, पीडितको गोपनीयता, आत्मसम्मान र सुरक्षालाई सुनिश्चित गर्नुपर्ने माग राखेको छ ।

Share the News

Recent News

Related News