ललितपुर । नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकताका लागि औपचारिक वार्ता सुरु भएको बताउनु भएको छ ।
गौतमका अनुसार एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग एकतासम्बन्धी छलफल प्रारम्भ भइसकेको छ । गौतमले पार्टी मात्रै खोलेर राम्रो नहुने भन्दै कम्युनिस्ट पार्टीबिचमा एकता गर्दै जानुपर्ने कुरामा जोड दिनु भयो ।
यसअघि गौतमले नेकपा (एमाले)सँग पनि पार्टी एकताको पहल गर्नु भएको थियो । तर, उहाँले एमाले नेतृत्वले प्रारम्भमा स्वागत गरे पनि अन्ततः एकताको ढोका बन्द गरेको आरोप लगाउँदै आउनु भएको छ ।
गौतमले आफूका लागि नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) दुवै एउटै भएको टिप्पणीसमेत गर्दै आउनु भएको छ । कम्युनिस्ट आन्दोलनमा पार्टी एकताको आवश्यकता र प्रयासलाई लिएर फेरि नयाँ बहस सुरु भएको बेला गौतमको सक्रियता नेपाली राजनीतिक वृत्तमा चासोको विषय बनेको छ ।
जनचासो डटकमका लागि नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य प्रेमलकुमार खनालले कम्युनिष्ट पार्टीबिचको एकतामा जोड दिँदै २०८२ बैशाख ११ गते एउटा लेख लेख्नु भएको छ । लेखमा भनिएको छ-‘नेपालका कम्युनिष्ट पार्टीहरुको सिद्धान्त, विचार, कार्यक्रम र कार्यदिशा समान भएर पनि नेतृत्वको व्यवस्थापनका कारण कम्युनिष्टहरुबिच तत्कालै एकता हुँदैन भन्ने तर्क पनि हुने गरेको छ । यस्तै बामपन्थीहरुमा रहेको डकम्याटिजम सोच र उग्रबामपन्थी सोचले पनि एकतामा समस्या उत्पन्न गरेको छ । तर, बामपन्थीहरुबिच एकता हुनु आवश्यक छ । जति बामपन्थीहरू भिन्नभिन्न हुन्छन्, त्यति नै बुर्जुवा वर्गले राष्ट्रिय राजनीतिमा पकड कायम गर्नेछन् । यसले नेपाली क्रान्तिलाई झन् झन् पछि पार्ने छ ।’
नेता गौतमले नेकपा एकीकृत समाजवादीको चुनावी गीत लेख्नु भएको थियो । नेकपा एकीकृत समाजवादीको ‘जनता जगाउने कलममा छाप लगाउने’ चुनावी गीत गौतमले लेख्नु भएको हो ।