मधु पन्थी, पोखरा ।
बालबालिकाले आफ्नो नैसर्गिक अधिकारको निर्वाध रुपमा उपयोग गर्न पाउनुपर्ने गण्डकी प्रदेशसभाकी उप-सभामुख विनाकुमारी थापाले बताउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजना दुई दिनसम्म सञ्चालन हुने बाल अधिकार समूहका पदाधिकारीका लागि क्षमता विकास तालिमको उद्घाटनका अवसरमा २०८२ जेठ १५ गते उहाँले सो कुरा बताउनु भएको हो ।
बालबालिकाहररूले प्राप्त गरेका अवसरहरूलाई सदुपयोग गर्नुपर्ने बताउँदै उहाँले बाल अधिकार प्रवर्धन गर्न गैरसरकारी संस्थाले सरकारलाई सहयोग गरिरहेको भनाई राख्नुभएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगकी पोखरा कार्यालयकी प्रमुख नीतु गड्तौलाले देशको सम्वृद्धिका लागि बालबालिकामा लगानी गर्नुपर्ने बताउनु भयो । उहाँले अधिकार र कर्तव्यलाई सँगसँगै लैजानु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख सुरेश ढकाल, गैरसहकारी संस्था महासङ्घ गण्डकीका उपाध्यक्ष पदमराज पहारी, महिला अधिकारकर्मी सवनम शर्मा, बाल अधिकारकर्मी केशव पौडेलले बालबालिकाको क्षेत्रमा धेरै कार्य गर्न आवश्यक रहेको बताउनु भयो ।
कानुन कार्यान्वयनको पाटो कमजोर भएका कारण बालबालिकाको अधिकार हनन्का घटनाहरू भइरहेका इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले बताउनु भयो । तालिममा कास्की र पूर्वी नवलपरासी जिल्लाका बालबालिका सहभागी रहेका पनि खकुरेलले बताउनु भयो ।