ललितपुर । सातदोबाटो–हात्तीवन ओरालोमा बिजुलीको पोलमा कारको ठक्कर लागेका कारण कारमा सवार तीन जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने रहेको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनाको उपचार पाटन अस्पतालमा भइरहेको प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार विशालको अवस्था गम्भीर रहेको छ । विशालको उपचार आईसीयूमा भइरहेको छ ।
ललितपुर प्रहरीका अनुसार २०८२ बैशाख २१ गते राति ११ बजेर १० मिनेट जाँदा ललितपुर महानगरपालिका-२८ हात्तीवनमा बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो । तीव्र गतिमा रहेको कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ ।