मधु पन्थी, पोखरा ।
समग्र विकासको अवरोध जातीय तथा लैङ्गिक विभेद “छुवाछुत तथा विभेद विरूद्व शून्य सहनशीलता, कानुन कार्यान्वयनका लागि हाम्रो साझा प्रतिबद्धता” मुलनाराका साथ स्थापित संस्था दलित महिला सङ्घ (फेडो) गण्डकीको आयोजना २० ओँ जातीय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस तथा अन्तरक्रिया कार्यक्रम २०८२ जेठ २१ गते पोखरामा सम्पन्न भयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य माओवादी संसदीय दलका सचेतक दमयन्ती रूचालले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको शुभकामना दिँदै परिवर्तन सम्भव भएको बताउनु भयो ।
उहाँले सुधार सम्भव भएपनि सुरूवात आफैँबाट गर्नु पर्ने र विभेद रहित समाजको परिकल्पना गरी अबका दिनमा जातीय विभेदका कारण कोहि-कसैबाट अपमानित हुन नपरोस् भन्नू भयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य दिलमाया पौडेल विक, परियार सेवा समाजका अध्यक्ष दुर्गा परियार, राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत कृष्णप्रसाद अधिकारी, गैसस महासङ्घ गण्डकीका सदस्य रमा पौडेल लगायतले दलितका हक अधिकार र समाजमा हुने विभेदका घटनाहरूलाई न्यूनिकरण र अन्त्यका लागि घर-घरमा सचेतना मूलक अभियानलाई निरन्तर सञ्चालन गर्नु पर्ने, साथै तीन तहकै सरकारले यो अभियानलाई महत्वका साथ लिनु पर्ने र दिवसका दिनमा दिवस मात्र मनाउने परिपाटीको अन्त्य हुनु पर्ने कानूनमा लेखर मात्र नहुने यसलाई अक्षरर्सो पालना गर्नुपर्ने भनाइ राख्नु भयो ।
अन्तरक्रियामा मानवअधिकार एलाइन्सका केन्द्रीय सदस्य तथा अधिकारकर्मी सवनम शर्माले नेपालमा जातीय विभेद र उन्मूलनका उपायहरू र दलित महिला सङ्घ (फेडो) जिल्ला संयोजक इश्वरी विकले दलित महिला माथी हुने हिंसाका विषयमा सहजीकरण गर्नु भयो भने जातीय छुवाछूत विरूद्वको ऐक्यबद्धतामा हस्ताक्षर अभियान पनि गरिएको आयोजकले जनाएको छ ।
दलित महिला सङ्घ (फेडो) गण्डकीका अध्यक्ष सुमित्रा गायकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इश्वरी विकले गर्नु भएको थियो ।