सिन्धुली ।
फिकल्ल गाउँपालिकाको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाको सहकार्य र स्वाधीन खबरपत्रिकाको समन्वयमा २०८२ साल जेठ १८ गते स्थानीय तह र मानव अधिकार विषयक एक दिने प्रशिक्षण कार्यक्रम फिक्कल गाउँ पालिकाको कार्यालयमा सम्पन्न भएको छ ।
यो प्रशिक्षण कार्यक्रममार्फत स्थानीय तहमा मानव अधिकार र विकास, वातावरण, सुशासन र स्थानीय तहमा नागरिकको सम्बन्धलाई सहयोगी र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।
यस कार्यक्रममा गाउँपालिका ५४ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा जन प्रतिनिधिहरु, नागरिक समाज र कर्मचारीहरुलाई मानव अधिकारसम्बन्धी प्रशिक्षण दिइएको हो ।
कार्यक्रमममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाका प्रमुख एवम् उपसचिव पवनकुमार भट्टले मानव अधिकारको संरक्षण सम्वर्द्धन र कानुनको प्रभावकारी कार्यान्वयन गर्ने दायित्व राज्यको भएतापनि त्यस्मा साझेदारी, पहरेदारी र खबरदारी गर्ने काम नागरिक समाजको भएकाले समय सन्दर्भ र परिस्थिति अनुरुप नागरिक चनाखो हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।
मानव अधिकार प्रशिक्षण कार्यक्रमले नागरिकलाई हक र अधिकारको बारेमा जानकारी गराउनुका साथै कर्तव्यप्रति उत्प्रेरित गर्नेमा उहाँले विश्वास व्यक्त गर्नु भयो ।
उपसचिव भट्टले विकास निर्माणका कामहरुलाई पारदर्शिता र मानव अधिकार मुखी पद्धतीले हेर्नु पर्ने कुरामा जोड दिँदै आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मानवअधिकारमैत्री तरिकाबाट गर्नका लागि सहभागिलाई आग्रह गर्नु भएको थियो ।
मानव अधिकार प्रशिक्षण कार्यक्रममा फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्वरबहादुर रजन मगरले फिक्कल गाउँपालिका मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा लागि सदैव तत्पर रहेको बताउनु भयो ।
उहाँले मानव अधिकारको हनन् सत्ता र पहुँचमा भएका व्यक्तिबाट हुने हुँदा यस्ता प्रकारका कार्यक्रमले सबैलाई सचेत गराउनुका साथै सेवाप्रति अभिप्रेरित गर्ने बताउनु भयो । उहाँले गाउँपालिकाले आगामी वर्षको बजेटमा नै मानअधिकारको विषय समावेश गरेर कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
नेपालको सन्दर्भमा अधिकार सम्पन्न स्थानीय तहको अभ्यास लामो समय देखि नभएकोले पनि स्थानीय तहले प्राप्त गरेको अधिकारको प्रभावकारी अभ्यास, जनतालाई प्रभावकारी भूमिका निर्वाह गरी स्थानीय तह प्रति जनताको आस्था र विश्वास वृद्धि गरी सामाजिक तथा राजनितिक स्थायित्वमा मानवअधिकारमैत्री सेवा प्रदान गर्दै मानव अधिकार संस्कृतीको विकास गर्ने उद्देश्यले यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको स्वाधिन पत्रिकाका प्रधान सम्पादक रुद्रबहादुर खड्काले जानकारी दिनुभयो ।
मानव अधिकार र सुशासनका सम्बन्धमा सम्बन्धित पक्षलाई जानकारी प्रदान गर्ने, विकास निर्माणको योजना तर्जुमा तथा कार्यान्वयलाई जनसहभागितामूलक ढङ्गबाट लागु गर्न जानकारी प्रदान गर्ने, स्थानीय सरकार र जनताको सम्बन्धलाई सहयोगी र प्रभावकारी बनाउने जानकारी प्रदान गर्ने, स्थानीय सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउने पद्धतिबारे जानकारी दिने, मानव अधिकार सम्बन्धी विषय वस्तुगत जानकारी गराउने, स्थानीय सरकारलाई मानव अधिकार मैत्री बजेट तर्जुमा गर्न उत्प्रेरित गराउने, नेपाल सरकारको मानवअधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना संयन्त्र स्थानीय सरकारले कार्यान्वयन गर्न उत्प्रेरित गराउने, लैङ्गिकमैत्री र सिमान्तकृत तथा वहिष्करणमा परेका वर्ग समुदायको मानव अधिकारलाई प्राथमिकतामा राख्न उत्प्रेरित गराउने लगायतका उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको खड्काले बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश हेटौंडाका प्रमुख एवम उपसचिव पवनकुमार भट्ट र मानव अधिकार अधिकृत रविना घिमिरेलगायतले सहजीकरण गर्नु भएको थियो ।