जनचासो

२०८२ जेष्ठ १२ गते
00: 00: 00
२०८२ जेष्ठ १२ गते

महालक्ष्मी नगरपालिकामा नेकपा एसको मागपत्र

ललितपुर ।

महालक्ष्मी नगरपालिकामा स्थानीय जनताले भोगिरहेका समस्यालाई लिएर नेकपा एकीकृत समाजवादी पार्टीको नगरकमिटीबाट २०८२ जेठ ११ गते नगर प्रमुख  हरिगोबिन्द श्रेष्ठसमक्ष माग पत्र बुझाइएको छ ।

नेकपा एकीकृत समाजवादीले  “सुशासन र रोजगारी  : समाजवादको तयारी ” भन्ने मूल नाराका साथ देशव्यापी रुपमा  जनताले भोगिरहेका समस्यालाई लिएर माग प्रस्तुत गर्दै  आन्दोलन सञ्चालन गरिरहेको छ । 

नगरकमिटिकी अध्यक्ष अम्बिका श्रेष्ठले पार्टीको तर्फबाट २८ बुँदे मागपत्र बुझाएको बताउनु भएको छ । मागपत्रमा जिल्ला अध्यक्ष हरिकृष्ण थापाको हस्ताक्षर रहेको छ ।

मागपत्र बुझाउने टोलीमा पार्टी पोलिटव्युरो सदस्य प्रेमलकुमार खनाल, पार्टी केन्द्रीय सदस्यहरु  राधा सिल्वाल, एस केसी, उषा बज्राचार्य, सुनिता थापा, जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण थापा, बागमती प्रदेश कमिटी सदस्यहरु मुक्ति सुवेदी, जितेन्द्र बस्नेत, जिल्ला कमिटी उपसचिव केदार थापा, जिल्ला कमिटी सदस्यहरु तथा महालक्ष्मी नगर कमिटी सदस्यहरु सहभागी हुनु हुन्थ्यो ।

पार्टीले अघि सारेका मागहरूः

१. कर्मनासा खोला आसपासको बस्ती भित्र वर्षातको बाढी पसी क्षति पुऱ्याएको हुँदा सोको व्यवस्थापन गर्नु पर्ने ।

२. गोदावरी खोलाको पानीमा ढलको फोहोर तथा बस्तीको अन्य फोहोर पानी मिसाएर दुषित हुँदै गएकोमा यस खोलाको ऐतिहासिक महत्वलाई ध्यानमा राखेर प्रदुषित मुक्त बनाउनु पर्ने ।

३. यसै नगरपालिका वार्ड नं.९ अन्तर्गत श्रृङ्गमति नदी तिल्पुखोलाको (ड्रेन) पर्खाल उठाउनु पर्ने ।

४. नगरपालिका क्षेत्रभित्र पर्ने बाटोहरुमा भएको खाल्डाहरु पुरी पिच तथा ढलान गर्नु पर्ने ।

५. नगरपालिका भित्रमा सबै वडाको बस्ती भित्र र चोक चोकमा बत्ति तथा सिसि क्यामरा जडान गर्नु पर्ने ।

६. लुभू बजारको मुख्य सडक अस्त व्यस्त भएको कारणले सडकको मापदण्ड तोकी सो मापदण्ड भित्र पर्ने घरहरुको यथाशीघ्र मुआब्जा दिनु पर्ने ।

७. लुभू सम्पदा बस्ती भित्रको चार ओटा ऐतिहासिक ढोकाको पुन निर्माण गर्नु पर्ने ।

८. लुभूको ऐतिहासिक खासि पुखुको पुनःनिर्माण गर्नु पर्ने ।

९. महालक्ष्मी नगरपालिका भित्र रहेको सांस्कृक्तिक सम्पदाहरुको संरक्षण गर्नु पर्ने ।

१०. महालक्ष्मी नगरपालिका भित्र रहेको सम्पूर्ण जात्रा, पर्व र सांस्कृतिक बाजाहरुको लागि बजेटको व्यवस्थापनलाई निरन्तरता दिनु पर्ने ।

११. कृषि राजकुलो व्यवस्थापन गर्नु पर्ने, कृषकहरुलाई प्रोत्साहन स्वरुप मल, विउ विजन औजारहरुको सर्वसुलभ सहयोग पुऱ्याउनु पर्ने र सो को बजार व्यवस्थापन गर्नु पर्ने ।

१२. युवा तथा महिलाहरुलाई उत्पादन मुलक तालिम दिई रोजगार व्यवस्थापन गर्नु पर्ने ।

१३. लुभूमा उत्पादन हुने कपडालाई प्रोत्साहन गर्ने र बजार व्यवस्थापन गर्नु पर्ने ।

१४. सिद्दीपुरको परालबाट बुन्ने हस्त कलालाई प्रोत्साहन गरी बजार व्यवस्थापन गर्नु पर्ने ।

१५. मूर्ति तथा हस्तकलाहरुको प्रोत्साहन गर्नु पर्ने ।

१६. ज्येष्ठ नागरिक तथा बौद्धिक अपाङगता भएका व्यक्तिलाई दिवा सेवाको व्यवस्था गर्नु पर्ने ।

१७. बालबालिकाहरुको लागि प्रत्येक वडामा बाल उद्यानको व्यवस्था गर्नु पर्ने ।

१८. महालक्ष्मी नगरपालिकाको वाड नं. १,२,३,४ र ५ मा मेलम्ची खानेपानीको सर्भे गरी द्रुत गतिमा कार्य गर्न पहल गर्नु पर्ने ।

१९. चापाखर्क खानेपानीलाई पूर्ण व्यवस्थित गर्नु पर्ने ।

२०. १० ओटै वडाहरुमा खानेपानी सुद्धिकरण तथा व्यवस्थापन गर्नु पर्ने ।

२१. महालक्ष्मी नगरपालिकाको १० नं वडालाई होम स्टे सञ्चालन गर्न तालिम तथा प्रोत्साहन गर्नु पर्ने ।

२२. नगरपालिका भित्रको फोहोरमैला सङ्कलन कार्यलाई अझ व्यवस्थित गर्नु पर्ने ।

२३. नगरबासिहरुको स्वास्थ्य बिमा अन्तर्गत पाउने सुविधाहरुलाई सहज व्यवस्थापन गर्नु पर्ने साथै नेपाल सरकारबाट उपलब्ध सम्पूर्ण औषधिहरु सहज रुपमा वितरण गर्नु पर्ने ।

२४. नगरपालिका भित्रका विभिन्न ठाउँहरुमा पहिरो गई विभिन्न क्षति पुऱ्याउँदै आएको हुनाले यसको रोकथामको लागि आवश्यक व्यवस्थापन गर्नु पर्ने ।

२५. नगरपालिकाभित्र पर्ने वनजङ्गलहरुको संरक्षण तथा सार्वजनिक जग्गा पनि संरक्षण गर्नु पर्ने ।

२६. नगरपालिकाभित्र बढ्दो बस्ती र जनासङ्ख्याको कारण विपत र जोखिमबाट बच्नको निमित्त एम्बुलेन्, दमकलको अति आवश्यकता भएकोले यसको व्यवस्थापन गर्नु पर्ने ।

२७. नगरपालिकाभित्रका सबै वडामा विपत व्यवस्थापनको तालिम दिई औजारहरुको व्यवस्थापन गर्नु पर्ने ।

२८. सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई १२ कक्षासम्म नि:शुल्क अध्ययनको लागि पहल गर्नु पर्ने साथै पुस्तकालयको व्यवस्थापन गर्नु पर्ने ।

Related News