ललितपुर । कोञ्ज्योसोम प्रज्ञा प्रतिष्ठानको आयोजनामा चौघरेमा साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा प्रतिष्ठानले प्रकाशन गरेको मुखपत्रको दोस्रो अङ्क लोकार्पण गरिएको छ । कोञ्ज्योसोम प्रज्ञा प्रतिष्ठानको वार्षिक मुखपत्रमा प्राज्ञिक विषयका लेख रचनालगायतका सामग्री समेटिएको प्रतिष्ठानले जनाएको छ ।
अघिल्लो साता गरिएको एक कार्यक्रममा मुखपत्रको लोकार्पणसँगै कोञ्ज्योसोमकी नवश्रष्टा मनिषा लामाको कथा सङ्ग्रह जन्मको सङ्घर्ष पनि लोकार्पण गरिएको कोञ्ज्योसोम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले जानकारी दिनु भयो ।
कथा सङ्ग्रहमा सामाजिक विषयवस्तुका कथाहरू समेटिएको कथाकार लामाले जानकारी दिनु भएको छ ।
सो अवसरमा कोञ्ज्योसोम गाउँपालिकास्तरीय कथा, कविता र नबन्ध प्रतियोगिताको नतिजा घोषणा गर्दै पुरस्कृत गरिएको थियो ।
तीन ओटैविधामा पहिलो हुनेलाई आठ/आठ हजार रुपियाँ, दोस्रो हुनेलाई ६/६ हजार रुपियाँ, तेस्रो हुनेलाई चार/चार हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।
त्यसैगरी सबै विधाबाट दुई/दुई जनालाई सान्त्वना स्वरुप दुई/दुई हजार रुपियाँ पुरस्कार र सबैलाई प्रमाणपत्र प्रदान गरिएको कोञ्ज्योसोम गाउँपालिकाले जनाएको छ ।
निबन्ध प्रतियोगितामा मदनकुमार लामा पहिलो, पेमा लामा दोस्रो र अनु लामा तेस्रो हुनु भएको छ । त्यसैगरी सीता लामा र प्हाल्मो स्याङ्बो लामाले सान्त्वना पुरस्कार पाउनु भएको छ ।
कविता प्रतियोगितामा सुस्मिता अधिकारी पहिलो, मधुसुदन उपाध्याय दोस्रो र रामबहादुर घ्यावा तामाङ तेस्रो हुनु भएको छ । मङ्गल महता र करुणा डिमडुङले सान्त्वना पुरस्कार पाएको मुल्याङ्कनकर्ता सुरेश बजगाईंले बताउनु भयो ।
कथा प्रतियोगितामा मनिषा लामा पहिलो, राजेश घिमिरे दोस्रो र सुशन बानिया तेस्रो हुनु भएको छ । प्रकाश सञ्जेल र सल्लेसमान भोम्जनले सान्तवना पुरस्कार पाउनु भएको छ ।
सो अवसरमा कोञ्ज्योसोममा जन्मेर राष्ट्रियस्तरमा ख्याति कमाउनुभएकी लोक तथा दोहोरी गायिका इन्दिरा गोले गुरुङलाई १ लाख रुपियाँ नगदराशीसहित जीवनपर्यन्त सार्थक सम्मानले सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरेले जानकारी दिनु भयो ।

भाषा र साहित्यका माध्यमबाट गाउँको चिनारी महत्वपूर्ण भएको हुँदा गाउँपालिकाभरका श्रष्टाहरूमध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि कृष्णमान लामाले बताउनु भयो ।
कार्यक्रममा नेपाल श्रष्टा समाजका अध्यक्ष एवम् लघुकथाकार श्रीओम श्रेष्ठ रोदन, महांकाल प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामसुन्दर केसी, महांकाल प्रज्ञा प्रतिष्ठानका सदस्य टङ्क लामा थोकरलगायतले भाषा र साहित्यका माध्यमबाट गाउँको विकासमा योगदान पुर्याउन सकिने बताउनु भएको थियो ।
साहित्यकार गोपाल सञ्जेलको अध्यक्षतामा रहेको प्रतिष्ठानको संरक्षकमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनु भएको छ ।